बेनी, म्याग्दी, १२ फागुन (रासस) प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ ।
आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
देशभरका करिब दुई हजार लायन्सको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीतिमा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने संस्कृति र संस्कार नभएको र गुटबन्दी भइरहेको बताउँदै लायन्स क्लबबाट राजनीतिकदलले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो ।
उहाँले प्रदेश नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधार रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका योजना ल्याइने बताउनुभयो ।
प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताउनुभयो ।