Logo

राष्ट्रपति बन्न झलनाथको यस्तो छ ब्रह्मास्त्र



काठमाडौं, १२ फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गतेको लागि तय भएको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने दौड वाम गठबन्धनमा सुरु भैसकेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै यो रेसमा छिन् । उनी स्वयम् दोहोरिनेगरि आन्तरिक गृहकार्यमा जुटिरहेको स्रोतको दाबी छ ।

तर, सार्वजनिक रुपमै आफू राष्ट्रपतिको उम्मेद्धवारी दिने तयारीमा रहेको एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्धघोष गरिसकेका छन् । खनाललाई माधव नेपालको पूर्ण साथ र सहयोग रहेको छ ।

उता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउने करिब–करिब सहमति भएको छ । यदि भण्डारीको नाममा कुनै सहमति जुट्न नसके ओलीको चाहना छ–सुवा नेम्बाङलाई राष्ट्रपति बनाउने ।

खनाल–नेपाल समूहको जोड भने स्थायी समितिबाट निर्णय लिनुपर्नेमा रहेको छ । २३ सदस्यी स्थायी समितिमा आफूहरुको बहुमत रहेको उनीहरुको विश्वास छ । तर यसको लागि निर्णायक भने उपाध्यक्ष वामदेव गौतम रहेका छन् ।

यदि खनाल–नेपालले भनेजस्तै स्थायी समितिबाट निर्णय भयो भने कसलाई राष्ट्रपति बनाउने भन्ने बल बामदेवको कोर्टमा हुनेछ । तर, खनाल भने बामदेवकै साथ र सहयोगमा आफ्नो पक्षमा बहुमत पुर्याउनेगरि गृहकार्यमा जुटेका छन् ।

यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने वामदेवलाई आफ्नो पक्षमा नै लिन खोजिरहेका छन् । ओली पक्षमा महासविच ईश्वर, उपमहासचिव विष्णु पौडेल, सचिवहरु प्रदिप ज्ञवाली र पृथ्वी सुब्बा रहेका छन् । त्यस्तै नेता शंकर पोखरेल, केशब बडाल पनि ओलीको पक्षमा छन् ।

यता खनाल–नेपाल समूहमा बरिष्ठ नेताद्धय लगायत उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली छन् । उपमहासचिव घनश्याम भुषाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य पनि खनालकै पक्षमा छन् । नेता सुरेन्द्र पाण्डे र अमृत बोहरा पनि खनाल–नेपाल समूहमै छन् ।

यता उपाध्यक्ष वामदेव गौतमले कसलाई सहयोग गर्ने भन्नेबारे अहिले कुनै धारणा सार्वजनिक गरिसकेका छैनन् । उनी पक्षधर नेता किरण गुरुङ हुन् । उनले कसलाई सहयोग गर्नेबारे वामदेवले जे भन्यो त्यही मान्छन् ।

स्थायी समितिमा रहेका नेताहरु छविलाल विश्वकर्मा र मुकुन्द न्यौपानेमध्ये विश्वकर्मा नेपाल पक्षका मानिन्छन् भने न्यौपाने ओलीको विश्वासिला नेता हुन् । २३ सदस्यीय स्थायी कमिटीको यो अंकगणित हेर्दा खनालको स्पष्ट बहुमत छ ।



प्रतिक्रिया दिनुहोस्