Logo

कृषिमा लगानी बढाउनुपर्ने सरोकारवालाहरुको जोड



हिमाली उत्पादनको बजारले व्यापकता पाउनुपर्छ : ऋषि धमला
काठमाडौं, १२ फागुन । कृषि विभाग महानिर्देशक डा. डिल्लीराम शर्माले कृषि क्षेत्रको विकासको लागि कृषिमा लगानी आवश्यक रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै महानिर्देशक शर्माले मुलुकलाई आर्थिक रुपमा बलियो बनाउनको लागि कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन ।

उनले भने,‘हाम्रो मुलुक पछिल्लो समय आत्मनिर्भरताको बाटोमा हिँड्न शुरु गरेको छ, यति भन्दैमा सबै कुरा पुग्ने र आर्थिक समृद्धि हुदैन, उर्वर भूमिलाई सही सदुपयोग गर्नुपर्छ, आफ्नो उत्पादनलाई सही रुपमा निर्यात गर्नुपर्छ, कृषिमा लगानीको वातावरण सिर्जना गर्ने र लगानी बढाउने काम सरकारले गर्नुपर्छ ।’

हिमाली जिल्लाको कृषि उत्पादनको प्रचार–प्रसार व्यापारिक सम्बन्ध विस्तारको लागि शुक्रबारदेखि शुरु भएको तेस्रो राष्ट्रिय हिमाली कृषि व्यावसाय प्रवद्र्धन प्रदर्शनी –२०७४ को बारेमा क्लबले आयोजना गरेको विशेष अन्तरक्रियामा प्रदर्शनीका संयोजक डा. विजयकान्त झाले हिमाली उत्पादनहरु स्वस्थकर भएको दाबी गरे ।

उनले भने,‘यस मेलाको मुल उद्देश्य हिमाली जिल्लामा उत्पादन हुने कृषि साम्रगीको विशेषताको पहिचान गराउनु हो, हिमालमा पर्ने १० वटा जिल्ला संखुवासभादेखि हुम्लासम्मका जिल्लाहरुमा उत्पादन भएका हाते कागज, च्याउ, चिराईतो, अल्लाको कपडा आदी कुराहरु सहरमा ल्याएर बेच्ने अनि सहरको पैसा गाउँमा लैजाने हो ।’

उनले अघि थपे,‘८० प्रतिशत अनुदानमा हिमाली क्षेत्रका कृषकहरुले आफ्ना व्यवसाय सञ्चालन गरिरहेका छन्, २० प्रतिशत आफ्नै लगानीमा कृर्षिमा जुटिरहेका छन्, हामीलाई फाईदा बेफाईदा भन्दा पनि स्वस्थ्यकर हिमाली उत्पादन सहरका मानिसले प्रयोग गर्न पाउन भन्ने नै हो ।’

त्यस्तै क्लबका अध्यक्ष ऋषि धमलाले हिमाली उत्पादनको बजारले व्यापकता पाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘हिमाली जिल्लामा उत्पादन हुने कृषि सामग्रीहरुको बजारको आकार ठूलो बनाउनुपर्छ, त्यो उत्पादनले ठूला सहरमा स्थान पाउनुपर्छ, हिमाल, पहाड र मधेशमा उपभोग हुनुपर्छ।’

उनले अघि थपे,‘स्वदेशी उत्पादनलाई नेपालीहरुले उपभोग गर्ने हो भने आर्थिक विकास हुन्छ, कृषि क्षेत्रको उचित विकास हुनुपर्छ, सरकारले यस्ता कुराहरुलाई गम्भिर भएर लिनुपर्छ।’

साक्षात्कारमा बिमलकुमार निर्मलले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने सिलसिलामा रहेको बताएका छन् । उनले भने,‘हिमाली उत्पादनको प्रदर्शनीले पनि यो बताईरहेको छ, हाम्रो देश आफ्नो उत्दानको सक्दो उपभोग गर्न तत्पर छ, हाम्रो विभागले पशुको उत्पादनमा निर्णायक कामहरु गरिरहेका छ।’

उनले अघि थपे,‘वर्षमा एकजना मानिसलाई ९१ लिटर दुधको आवश्यक हुन्छ, हामीले अहिले दुधको मात्रा ७२ लिटर पुर्याएका छौँ, १४ केजी मासु चाहिन्छ भने हामीले १२ केजि उपलब्ध गराउन सकेका छाँै, १० वर्ष पछि आयतमा कमी गरेका छौं अण्डा आयातमा पुरै बन्देज लगाएका छौँ यस्ता धेरै कुराहरुमा हाम्रो आत्मनिर्भर बलियो बन्दैछ ।’

कृषि विश्लेषक डा. कृष्ण पौडेलले कागजमा आत्मनिर्भर भनेर आर्थिक क्रान्ति सफल नहुने ठोकुवा गरेका छन् । उनले भने,‘हाम्रो देशमा नेताहरुले निक्कै ठूला गफ हाकिरहेको सुनिन्छ, गफमा आर्थिक समृद्धिका कुरा गरेर हुँदैन, कृषिमा आत्मनिर्भर मुलुकलाई माथि उठाउन गफले होईन कामले सकिन्छ, उत्पादनशिल माटोलाई विविध औषधि प्रयोग गरेर बिगारीदैछ, प्रांगारिक मलको प्रयोग गर्नेमा कसैको ध्यान जादैन, खालि उत्पादन बृद्धिको नाममा जे पायो त्यही मलको प्रयोग गरिएको छ, उत्पादन वस्तुहरुले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ यता तिर ध्यान जान जरुरी छ।’

कार्यक्रममा रामहरि पौडेलले हिमाली जिल्लामा उत्पादित कृषि सामग्रीको बजार विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘हिमाली जिल्लामा भएको सामग्रीको उचित उपभोग गर्नको लागि बजार व्यवस्थापन गर्नपर्छ, सडक बाटो पहिलो कुरा हो, राजधानीको भृकुटिमण्डपमा सञ्चालित मेलाले हिमाली जिल्लाको उत्पादन सहरमा पठाउने र सहरको पैसा गाउमा लिने हो।’



प्रतिक्रिया दिनुहोस्