Logo

प्रभावकारी प्रतिपक्षको भूमिकाका लागि कांग्रेसले बनाउने छायाँ सरकारलाई स्वागत गर्छौँ : पौडेल



नेकपा एमाले र माओवादीमा आफ्नो भागमा परेका केही पदमूख्य पदमा कसलाई बनाउने भन्ने छलफल चलिरहेको छ । मन्त्रीमण्डल विस्तारका लागि पनि दुवै दल गृहकार्यमा छन् । पार्टी एकताका लागि पनि दुईवटा कार्यदल बनाएर काम भइरहेको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मन्त्रीमण्डल कहिले विस्तार हुन्छ ?
आजभोलीमा हुन्छ ।

केपी ओली प्रधानमन्त्री भएको एक हप्ता नाघिसक्यो । मन्त्रीमण्डल विस्तार गर्न किन ढिला भयो ?
ढिला भएको छैन । एक हप्तामै ढिलो भयो भन्न मिल्दैन । हप्ता दश दिनभित्रै हुँदैछ । यसलाई ढिला भन्न हुँदैन । आवश्यक सरसल्लाह र गृहकार्य हुनुपर्छ । त्यसका लागि प्रधानमन्त्रीले समय लिनुभएको होला ।

तपाई पनि मन्त्री बन्ने हो ?
पार्टीले उपयुक्त पात्रको छनौट गरेर निर्णय गर्छ । को बन्न बन्नुपर्छ भन्ने व्यक्तिको कुरा प्रमुख कुरा होइन । जनताको अपेक्षा पूरा गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने कुरामा अहिलेको सरकार प्रतिवद्ध छ ।

योग्य व्यक्ति कसरी छान्नुहुन्छ ?
मन्त्री नियुक्ति गर्ने अधिकार संविधानअनुसार प्रधानमन्त्रीलाई छ । हामीले पनि स्थायी समितिको बैठक बसेर प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएका छौँ । उहाँले सबै पक्षको विचार गरेर निर्णय गर्नुहुन्छ ।

पार्टी एकताको बारेमा हिजोको छलफलमा केके कुरा भयो ?
हामीलाई १५ दिनको समयसिमा छ । त्यो समयसिमाभित्रै दिइएको कार्यभार पूरा गरेर प्रतिवेदन पेश गर्छौ । पार्टीको अन्तरिम विधानको मस्यौदा गर्ने र दुवै पार्टीको संगठनात्मक एकताका लागि कस्तो विधि र मापदण्ड अवलम्बन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।

स्थानीय तहदेखि केन्द्रसम्मको संगठन कसरी मिलाउनुहुन्छ ? निकै कठिन छ नि ?
संगठन मिलाउनका लागि कठिन छैन । हामीले यसअघि गरेका निर्णय पनि कठिन नै भनिएको थियो । हामीले सहजै मिलायौँ । अब पनि मिलाउँछौँ । अहिले काम सुरु गरेका छौँ । अहिले नै भन्न मिल्दैन । मापदण्ड बनाउँदैछौँ ।

अन्तरिम विधानमा पनि विवाद छैन ?
छैन । हामीलाई पार्टीले गाइडलाइन दिएको छ । दुई दलबिच भएको असोज १७ देखि यताका महत्वपूर्ण निर्णयका आधारमा हामी काम गर्छौ ।

संगठनमा ३० र ७० प्रतिशतका आधारमा जान लाग्नुभएको हो ?
यो गलत कुरा हो । अहिले हामीले गरेको एकता हो । गठबन्धन होइन । एकता गर्दा यति उती भनेर प्रतिशतको कुरा नै आउँदैन । योग्यता, अनुभव र योगदानलाई आधार बनाउँछौँ । हामी हार्दिकताका साथ सम्पादन गर्छौँ ।

पार्टी एकता घोषणा कहिलेसम्म होला ?
अहिले ठ्याक्कै मिति भन्न त सक्दिन । तर महिना दिन लाग्दैन । कति दिनभित्र भन्ने कुरा हो । हामी छिटै गर्छौँ । अहिले मलाई दिन तोक्न नलगाउनुस् ।

अब प्रदेशको कुरा गरौँ । प्रदेश नम्बर पाँचको राजधानी कहाँ हुन्छ ? प्रदेश ६ ले त राजधानी र नाम तय गरिसक्यो । ५ को नाम के हुन सक्ला ?
प्रदेशको राजधानी कहाँ तय गर्ने भन्न कुरा प्रदेशसभाले नै निर्णय लिन्छ । तर त्यस प्रदेशका जनताले पनि बुझिसकेका छन् कि राजधानी कहाँ हुन्छ भनेर । प्रदेशको नाम पनि प्रदेशसभाले टु्ङ्गो लगाउँछ । नामका विषयमा धेरै छलफल गर्नुपर्ने छैन । ऐतिहासिक स्थल भएको पाँच नम्बर प्रदेशको नाम पनि तिनै स्थलको नामसँग सम्बन्धित हुन्छ ।

अहिलेको सरकारलाई निगरानीमा राख्नका लागि कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?
प्रतिपक्षले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । यसलाई सकारात्मक रुपमा लिएको छु । छायाँ सरकार बनाओस्, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरोस् । यसले कुनै नोक्सान गर्दैन । राम्रै हुन्छ ।

विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरु के गर्नुहुन्छ ?
कामचलाउ सरकारका सिमाहरुभन्दा बाहिर गएर भएका कामहरुलाई पुनरावलोकन गर्छौँ ।

राष्ट्रपति विद्यादेवीलाई दोहार्याउने कि झलनाथ खनाललाई बनाउने ?
औपचारिक निर्णय भएको छैन । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन ।

झलनाथ खनाललाई बनाउनुपर्छ भनेर पनि लबिङ भएको छ नि ?
कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन । हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन । कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढि हुने भएकाले सोहीअनुसार निर्णय गर्छौँ ।



प्रतिक्रिया दिनुहोस्