Logo

कांग्रेस केन्द्रिय समितिको बैठक चल्दै, नेवि संघको धर्ना



फागुन १३, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ ।

शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने छ ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आएका छन् । सर्वसहमति भए डा. कोइराला र देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ ।
बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए । भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन् ।

धर्नामा महामन्त्री कुन्दनराज काफ्ले र सिटौला समूहका विद्यार्थी रहेका छन् । विद्यार्थीले सांकेतिक रुपमा आँखामा कालो चस्मा लगाएर विरोध जनाएका छन् ।

कांग्रेसको आँखा बन्द भएकोले सांकेतिक रुपमा कालो चश्मा लगाएको उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्