बर्दिवास, १३ फागुन : साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ ।
बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताउनुभयो ।
आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलाँै’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताउनुभयो । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वान्को मतलाई अब व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो ।
अध्ययन केन्द्रका अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको ‘एउटै भाषा, एउटै वेश’ को नीतिले ओझेल्याउन खोजेको बताउनुभयो । राज्यले अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
भाषाविद् एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताउनुभयो ।
वाम बुद्धिजीवी श्याम श्रेष्ठले नेपाली समृद्ध भाषा भइसकेकाले अब अर्को भाषालाई स्थान दिँदा अप्ठ्यारो पो पर्ने हो कि भन्ने चिन्ता नगर्न नेपालीभाषीसँग आग्रह गर्नुभयो । उहाँलेमुख्यतः भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले ‘मेरो देश नेपाल र म नेपाली’ भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंँल्याउनुभयो ।
राजपा नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य सुरिता साहले हिन्दी सरकारी कामकाजको भाषा बन्नुपर्ने आपूmहरुको पुरानो अडान कायम रहेको बताउनुभयो । (रासस)