Logo

सरकारमा थारु समूदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी



एमाले–माओबादीबाट कम्तिमा एक जना थारु फुलमन्त्री बनाउनुपर्छ : भगवती चौधरी
थारुलाई राज्यमन्त्री दिईए सपथ नखानुहोस् : डा. चौधरी
काठमाडौं, १३ फागुन । थारु युवा सभा केन्द्रिय समितिले वर्तमान सरकारमा थारु समूदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो । समितिका अध्यक्ष कानूनलाल चौधरी (थारु) ले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको ईतिहाँस स्मरण गराउँदै भने,‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बनेको छ, तर अहिलेसम्म एक जना पनि थारु मन्त्री बनेका छैनन्, बजारको हल्ला सुन्दा एमाले र माओवादी दुवै पार्टीले थारु समूदायबाट एक जनालाई पनि पूर्ण मन्त्री बनाउनेजस्तो देखिएको छैन, यस्तो अवस्थामा हामी खबरदारी गर्न आज एक्कासी यो क्लबमा भेला भएका छौं।’

उनले प्रधानमन्त्री ओलीले आज वा भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्न लागेको आफूहरुको जानकारीमा भएकोले अब हुने विस्तारमा थारु समूदायलाई समेट्नेगरि एक जना फुल मन्त्री बनाउनुपर्ने धारणा राखे ।

थारुले भने,‘म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु, उहाँहरुले अब ढिलाई नगरी थारु समूदायको भावनालाई सम्मान गर्दै कम्तिमा एक जना फुल मन्त्री बनाउनुपर्छ, सरकारको नेतृत्व गरेका दुवै दल एमाले र माओवादी केन्द्रलाई हाम्रो विनम्र आग्रह छ ।’

उनले अघि भने,‘देशमै अहिले हामी थारु समूदाय करिब ७ प्रतिशत छौं, तर विगतदेखिको ईतिहाँस हेर्दा हामीलाई सरकारमा सहभागी गराएर देश हाँक्ने जिम्मा दिन सरकारका नेतृत्व गरेकाहरुले कञ्जुस्याँई गर्नुभएकै हो, मुलुकको यो ७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनमा थारु समूदायको महत्वपूर्ण योगदान छ, थारुका छोराछोरीले रगत र पसिना बगाएका छन्, तर हामीले कहिल्यैपनि यो दिनुहोस्, त्यो दिनुहोस् भनेर विगतमा माँगेनौं, अहिले मुलुक संघीय संरचनामा गएको छ, समावेशी–समानुपातिक सिद्धान्त अनुसार पनि हाम्रो समूदायलाई सरकारको प्रतिनिधित्वमा समेट्नुपर्छ।’

यदि वाम गठबबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकारले थारु समूदायलाई सम्बोधन गर्नेगरि एक जना पनि फुल मन्त्री नबनाए आफूहरुको भावना र सिँगो समावेशिताको भावनामाथि चोट पुग्ने उनको गुनासो थियो ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् थारु अभियन्ता भगवती चौधरीले अब हुने मन्त्रिमण्डल विस्तारमा एमाले र माओवादी केन्द्रबाट कम्तिमा एक जना थारु सभासदलाई फुल मन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन् ।

उनले भनिन्,‘सरकारमा थारु समुदायलाई पनि सहभागिता गराउनुपर्छ भनेर मैले प्रधानमन्त्रीज्यूले भेटेकी थिएँ, उहाँले सकेसम्म समावेशीता अनुसार नै मन्त्रिमण्डल विस्तार गर्छु भनेर वचन दिनुभएको छ, उहाँको सोच त सहभागी गराउने नै रहेको मैले पाएको छु, तर सभावना हेर्दा एमालेबाट बन्ने देखिँदैन्, अब संभावना माओवादी केन्द्रबाट छ, अहिले मिडियामा आएको नाम हेर्दा अमनलाल मोदीको नाम छ, उहाँलाई राज्य वा सहायक मन्त्री भन्दापनि फुल मन्त्री बनाउनुपर्छ।’

नेतृ चौधरीले थारुहरु यो देशको भूमीपुत्र भएको उल्लेख गर्दै भनिन्,‘थारुहरु सोझो हुन्छन्, आफ्नो अधिकार माँग्न अघि बढ्नपनि लजाउँछन्, स्वाभिमानी हुन्छन्, यही कारणले हरेक चीजमा पछाडि परिरहेका छन्। अब त्यस्तो अवस्था रहेन, मुलुक संघीयतामा गैसकेको छ, सबैको समावेशिता अनुसार अधिकार सुनिश्चित हुनुपर्छ।’

त्यस्तै थारु अभियन्ता डा. सुरेन्द्र चौधरीले सरकारमा थारु समूदायको सहभागिता सम्मानजनक रुपमा हुनुपर्ने बताएका छन् । चौधरीले भने,‘संविधान बनाउन, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थारु समूदायलाई वर्तमान वाम गठबन्धनको सरकारमा सम्मानजनक रुपमा सहभागी गराउनुपर्छ, यसको लागि म यही मञ्चबाट सरकारको ध्यानाकार्षण गराउन चाहन्छु।’

उनले सहायक वा राज्यमन्त्री दिए त्यसमा सहभागी नहुन थारु सांसदहरुलाई समेत आग्रह गरे । उनले भने,‘फेरि पनि थारुहरुलाई राज्यमन्त्री दिने कुरा सुन्दैछु, यो गलत हुन्छ, हाम्रो भावनामाथि ठेस पुग्छ, त्यसैले म थारु सभासदहरुलाई पनि आग्रह गर्छु, राज्यमन्त्री दिए नखानुहोस्।’

चौधरीले आफूहरुको मौनतालाई कमजोरीको रुपमा नलिन पनि सरकारलाई आग्रह गरे । उनले भने,‘हामी अहिले पर्ख र हेरको अवस्थामा छौं, अब मुलुक नयाँ युगमा प्रवेश गरेको छ, नयाँ युगमा नयाँ सरकार बनेको छ, हामी यो सरकारलाई पूर्ण साथ र सहयोग गर्छौ।’ यद्धपी उनले अब हुने मन्त्रिमण्डल विस्तारमा थारु समूदायलाई समावेश नगरी त्यो मुलुक, सरकार र सरकारमा रहेका दलहरुलाई पनि घातक हुने चेतावनी दिए ।

उनले अघि भने,‘जितेर आएका थारु सांसदलाई पनि हामीले पार्टीको झोले राजनीति गर्न पठाएको होईन, राज्यमन्त्री दिईए सपथ नै नखानुहोस्।’

थारु कल्याणकारिणी सभा उपत्यका सचिव तुलसी थारुले पनि सरकारमा थारु समूदायको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए । उनले प्रदेश सरकारमा ७ वटा सरकारमा एक जना पनि मुख्यमन्त्री नबनाईएको भन्दै गुनासो पोखे ।


थारुले भने,‘अब हुने मन्त्रिमण्डल विस्तारमा थारुलाई स्थान दिएन हामी विकल्प खोज्न बाध्य हुन्छौं।’



प्रतिक्रिया दिनुहोस्