Logo

पार्टीभित्रकै किचलोले ओली–प्रचण्डले अरु मन्त्री टुँगो लगाउन सकेनन



काठमाडौं, १४ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबाट २ २ जना गरि आज चार जनाले मन्त्रिको सपथ लिएका छन् ।

चार जनालाई मन्त्रीको सपथ खुवाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका छन्। पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्।

प्रधानमन्त्री भए लगत्तै ओलीले युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरेका थिए।

माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सपथ लिएका छन्।

तर बाहिर चर्चा गरेजस्तो ओलीले आज बाँकी मन्त्री बनाउन सकेनन् । दुवै पार्टीभित्र आन्तरिक किचलो बढेपछि मन्त्री कसलाई बनाउने भन्नेबारे ओली–प्रचण्डले नाम टुँगो लगाउन नसकेको बुझिएको छ। हुन त फोरम पनि सरकारमा सहभागी हुने भएकोले अरुलाई अहिले मन्त्री नबनाईएको दुवै पार्टीका नेताहरुले जिकिर गरेका छन् ।

माओवादीभित्र आकाक्षी झनै धेरै देखिएका छन् । प्रदेश नम्बर १ मा अमनलाल मोदी र राम कार्कीको नाम चर्चा छ । तर, थारु समूदायलाई पनि समेट्नुपर्छ भन्ने आवाज उठेकोले मोदीको नाम निकै चर्चामा छ ।

त्यस्तै २ नम्बर प्रदेशबाट मातृका यादव मन्त्री बनिसके । अर्का नेता गिरिराजमणि पोखरेलपनि मन्त्री बनाईपर्ने भन्दै आन्तरिक लविङमा व्यस्त छन् । प्रदेश नम्बर ३ बाट रामबहादुर थापा बादल मन्त्री बने । उनले गृहमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । यो प्रदेशबाट नेतृ पम्फा भुषालपनि आकांक्षी छिन् ।

सबै प्रदेशमा आकांक्षीहरु धेरै देखिएपछि अध्यक्ष प्रचण्डलाई कसलाई मन्त्री बनाउने भन्नेबारे यतिवेला सकसपूर्ण अवस्था छ । एमालेमा पनि त्यस्तै किचलो छ । मन्त्री बनाउनुपर्ने र बन्नुपर्नेहरुको बालुवाटारमा विहान बेलुका नै ठूलो भीड लाग्ने गरेको छ।



प्रतिक्रिया दिनुहोस्