Logo

संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप, देउवालाई विस्थापित गर्ने प्रयास



फागुन १६, काठमाण्डौ । कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ता गर्नु पर्ने भएको छ । २१ गते निर्वाचन तोकिएको छ ।

संसदीय दल निर्वाचन समितिको मंगलबार बसेको बैठकले उम्मेदवारी दर्ताको समय तोकेको हो । २१ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएकाले त्यस अघि नेता चयन गरेर संघीय संसद सचिवालयलाई जानकारी गराइसक्ने तयारी कांग्रेसको छ ।

यतिबेला कांग्रेसभित्र दलको नेता कसलाई बनाउने भन्नेमा रस्साकस्सी चलेको छ । एक पक्षले जसरी पनि सभापति देउवालाई नै दलको नेतामा चयन गर्नुपर्नेमा जोड दिएको छ अर्को पक्षले देउवा आफै संसदीय दलको नेता बन्दा कांग्रेस अझै कमजोर हुने जिकिर गर्दै अरुलाई मौका दिन आग्रह गरिरहेका छन् ।

नेता प्रकाशमान सिंहले देउवालाई चुनौति दिन आफू तयार रहेको भन्दै उम्मेदवारी दिने बताएका छन् भने महामन्त्री शशांक कोइरालाले आफूमा सर्वसम्मत भए मात्रै दलको नेता बन्ने तर चुनाव लडेर नबन्ने भन्दै नेताहरु फकाउने प्रयासमा छन् ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले सर्वसम्मत रुपमा दलको नेता चयन गर्नका लागि पार्टी सभापति शेरबहादुरद देउवाले भूमिका खेल्नुपर्ने बताए ।

दलको नेता चयन गर्ने सन्दर्भमा प्रारम्भिक छलफल चलिरहेको बताउँदै खड्काले पार्टी कमजोर भएको अवस्थामा सबैसँग छलफल गरेर सहमति खोज्न सबै नेताहरु सकारात्मक भएको दाबी गरे ।

नेतृत्व परिवर्तनका लागि रहर गरेर मात्रै नहुने भन्दै खड्काले सशक्त भूमिकाको खाँचो रहेको उने औँल्याए ।
यसैबीच महामन्त्री कोइरालालाई सर्वसम्मत दलको नेता बनाउनुपर्छ भन्ने लबिङका नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै पार्टी सभापति देउवा र नेता पौडेललाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

उनले दुबै नेतालाई ‘अभिभावक बन्नुस्, वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ’ भनेका छन् ।

आफ्नो यो व्यक्तिगत विचार भएको भन्दै उनले चिठीपत्रको शैली छाड्न पनि पौडेललाई आग्रह गरेका छन् । स्रोतका अनुसार प्रवक्ता शर्माले हालै मात्र सभापति देउवा र पौडेललाई भेटेर औपचारिक रुपमा आग्रह पनि गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्