Logo

प्रदेश २ मा फोरमसँगको गठबन्धन टुट्न सक्ने राजपा नेता यादवको संकेत



फागुन १६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफूहरु सरकामा नगई जनताको माझमा रहने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले आफूहरु जनताको सेवा र हक अधिकारका लागि प्रतिवद्ध रहने दाबी गरे ।

आफ्नो दललाई सरकारमा सहभागि गराउने विषयमा अहिलेसम्म कुने पनि छलफल नै नभएको बताउँदै उनले राजपा संविधानमा भएका त्रुटि सच्याउने एजेण्डामा अडिग रहेको बताए ।

राजपासँग चुनावमा सहकार्य गर्दै प्रदेश नम्बर २ मा संयुक्त सरकार बनाएको संघीय समाजवादी फोरम भने सरकारमा जाने तयारी गरेको छ । संविधान संशोधन गर्न सरकार तयार भए सरकारमा सहभागि हुने बताउँदै आएको फोरम र सरकारबिच सहमति हुन लागेको छ ।

तर राजपा नेता यादवले भने विगतमा संविधान संशोधनको आश्वासन दिए पनि ठोस नतिजा आउन नसकेकाले आफूहरु विश्वस्त हुन नसक्ने बताए ।
“सरकारमा जाने विषय मात्रै हाम्रो लागि महत्वपूर्ण भइदिएको भए हामी पनि अरुले गरेजस्तै दौडधुप गथ्र्यौँहोला । तर राजनीतिलाई निकास दिने विषय प्रमुख हो ।” यादवले भने ।

सबै कुरा अहिले प्रष्ट हुन नसकेको भन्दै उनले संविधान संशोधनको सुनिश्चितता भए पनि राजपासँग सरकारका विषयमा कसैले पनि सल्लाह नगरेको बताए ।
फोरमसँग हुन लागेको भनेको सम्झौताका बारेमा पनि आफूहरुलाई जानकारी नभएको बताए ।

सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवले अस्पष्ट सम्झौता गर्न लागेको भन्दै यादवले उपेन्द्रको राजनीतिक चरित्रमाथि प्रश्न उठाएका छन् ।
प्रदेश नम्बर २ मा सरकार विस्तारका लागि आफ्नो दल तयारी अवस्थामा रहे पनि फोरमले चासो नदेखाएको उनको आरोप छ ।

फोरम केन्द्रिय सरकारमा सहभागि भयो भने प्रदेश नम्बर २ मा फोरमसँगको गठबन्धन टुट्न सक्ने संकेत यादवले गरेका छन् ।

“हामीले सबै राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहका छौँ । समक्षिा गरिरहेका छौँ । परिस्थिती कस्तो निर्माण हुन्छ, त्यसका आधारमा हामी निर्णय गर्छौँ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्