Logo

पार्टीले मलाई राष्ट्रपति बनाउने हो भने बन्न तयार छु : नेम्वाङ



फागुन १६, काठमाण्डौ । नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपति बन्ने आफ्नो व्यक्तिगत चाहना नभएको स्पष्ट पारेका छन् ।
पार्टीले आफूलाई राष्ट्रपतिका लागि अघि सार्यो भने आफू तयार रहेको उनले बताए ।

“पार्टीले तैँले यो काम गर भनेर भन्यो भने पार्टीलाई धन्यवाद दिन्छु, जिम्मेवारी पूरा गर्छु । तर कुराहरु धेरै आएका छन् । औपचारिक निर्णय भइसकेको छैन ।” नेम्वाङले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले भने, “व्यक्तिगत रुपमा मैले कहिल्यै पनि आग्रह गरेको छैन । संविधान सफलतापूर्वक बनाएर फर्किएको मलाई तैँले यसो गर्नुपर्छ भनेर दलहरुले, नेताहरुले भनिदिनुपर्छ ।”

“मलाई के गर्नुपर्छ भन्ने कुरा केपी ओली, पुष्पकमल दाहाल, उपेन्द्र यादवदेखि शेरबहादुर देउवालगायतले भन्नुपर्छ । मेरो व्यक्तिगत आग्रह केही पनि छैन ।” नेम्वाङले थपे ।
आफूलाई सभामुख, राष्ट्रपति वा कुनै महत्वपूर्ण पद दिनुपर्छ भन्नेहरुलाई धन्यवाद दिएका छन् ।
तर आफू आफ्नै बारेमा नभै देश र जनताको बारेमा चिन्तित रहेको उनको भनाई छ ।

नेम्वाङले संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने विषयमा निरन्तर छलफल भइरहेको बताए ।
आजै लिखित सहमति हुने सम्भावना रहेको उनको भनाई छ । “सैद्धान्तिक रुपमा हामी सहमतिको नजिक पुगेका छौँ । आवश्यकताका आधारमा संविधान संशोधन गर्न हामी तयार छौँ ।” उनले भने ।

विगतमा पनि एमाले संविधान संशोधनकै पक्षमा रहेको दाबी गर्दै उनले उचित समयमा उचित संशोधन गर्नका लागि एमाले तयार हुने बताए ।
फोरमसँग सहमति भएसँगै फोरमसहितको सरकारले पनि पूर्णता पाउने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्