Logo

भारतीय राजदुतले प्रधानमन्त्री ओलीलाई भेटेरै फागुको शुभकामना दिए



काठमाडौं, १७ फागुन । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आज फागुपूर्णिमाको शुभकामना दिएका छन् ।

ओलीलाई भेट्न राजदुत पुरी दम्पत्ती आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ ।

यता प्रधानमन्त्री ओलीले पनि आज एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पु¥याओस् ।”

शुभकामना सन्देशमा उनले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा लिइने पनि उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्