Logo

ओलीले झलनाथलाई एक्ल्याउँदै विद्यालाई नै राष्ट्रपतिमा दोहोर्याउने निश्चित



फागुन १८, काठमाण्डौ । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोर्होयाउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ ।

संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोर्होयाउने निश्चितप्राय रहेको एमालेका नेताहरुले बताएका छन् ।

एमालेकै नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले पनि आफू राष्ट्रपतिका लागि योग्य र तयार रहेको बताउँदै आएका थिए । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भण्डारीलाई नै दोहोर्याउन चाहेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएका हुन् ।
२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बसेर एमालेले औपचारिक निर्णय गर्ने बताईएको छ ।

प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन् । विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोर्होयाउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् । तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोर्होयाउने तयारी गरेको छ ।

सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भन्दै भण्डारी र पुनले आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै दोहोरिन ‘लबिङ’ गरेका थिए ।
नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्