Logo

सरकारले हामीसँग गम्भिर वार्ता गरेको छैन : मनिष सुमन



काठमाडौं, १८ फागुन । राजपा नेपालका नेता मनिष सुमनले केन्द्रिय सरकारमा जाने जनमत आफूहरुसँग नभएकोले अहिले त्यतातिर बल नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘फोरम र राजपा सँगै मिलेर चुनाव लडेकोले जनताले त्यही अनुसारको म्याण्डेट दिए, हामीलाई मिलेर प्रदेश सरकार चलाउने जनमत दिएका छन्, त्यसैले राजपाले केन्द्रिय राज्यसत्तामा बल गरेको छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा सुमनले आफूहरुसँग अहिले सरकारले आफूहरुसँग गम्भिर वार्ता नगरेको गुनासो पोखे । उनले भने,‘हामीसँग खासै त्यस्तो गम्भिर वार्ता भएको छैन।’ उनले आफूहरुले खोजेको भनेको नै संविधान संशोधन गर्नु भएकोले केन्द्रिय सरकारमा जानेबारे कुनै हतारो नगरेको स्पष्ट पारे । यद्धपी उनले फोरम नेपालले सरकारमा जानको लागि हतारो गरेको आरोप लगाए ।

संविधान नै विभेदपूर्ण रहेकोले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो । उनले भने,‘राजपा र फोरम दुवै मधेशका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि, या यो सरकारको दोस्रो प्रधानमन्त्री बनेपनि र देशको पूरै सुरक्षा फोर्स लिएर गएपनि मधेशमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुन सक्दैन्।’

उनले अहिले मधेशको भू–भागमा प्रधानमन्त्री ओली गए त्यहाँ जनताको दुर्वव्यवहार हुन सक्ने बताए । उपेन्द्र यादवलाई मधेशको विद्धानको संज्ञा दिँदै उनले ठिक-ठिक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए । उनले भने,‘संविधानलाई मधेशमैत्री बनाउनुपर्छ, अब ओली सुध्रिएलान भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन्।’



प्रतिक्रिया दिनुहोस्