Logo

आवश्यकताका आधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ



पोखरा, १८ फागुन (रासस) : प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यकता र औचित्यका आधारमा कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको ३४ औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशको आवश्यकताअनुसार नीति निर्माण एवं योजनाका क्षेत्रमा मन्त्रिपरिषद् क्रियाशील बन्नुपर्ने भएका कारण मन्त्रीहरू कार्यक्रममा सहभागी बन्ने सन्दर्भमा निश्चित मापदण्ड तयार गरिने उल्लेख गर्नुभयो ।

“जनचाहनाअनुसार प्रदेशको विकास अपरिहार्य छ,” उहाँले भन्नुभयो, “अनावश्यक धेरै कार्यक्रममा सहभागी बन्दा मन्त्रालयका कामहरू प्रभावित बन्ने भएकाले आगामी बस्ने मन्त्रिपरिषद्को बैठकबाट मापदण्ड तयार गरी अघि बढ्ने योजनामा छौँ ।”

सिमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नेपाल रेडक्रस सोसाइटीले मानवीय एवं सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा उहाँको जोड थियो ।

पोखरा धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको बताउँदै यहाँका प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै समृद्ध प्रदेश निर्माणमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संघीय शासनअनुसार तीनवटै तहका सरकार बनिसकेको बताउँदै उहाँले केन्द्र सरकारका अधिकांश कानुन बनिसकेको भएपनि प्रदेश र स्थानीय सरकारका भने बन्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गानाले शाखाले विपद् व्यवस्थापनका साथै जिल्लामा आवश्यक सामाजिक क्षेत्रका काममा क्रियाशीलता देखाउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका सचिव दामोदर बैरागी, नेपाली काँग्रेसका जिल्ला सदस्य युवक लामिछाने र नेकपा (माओवादी केन्द्र)का बखानसिं गुरुङ लगायतले प्रादेशिक संरचनामा रेडक्रसको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्