Logo

माइतीघर मण्डलामा १०९ मैनबत्ती बालेर मनाइयो रामप्रसाद राई जन्मजयन्ती



काठमाडौँ, १९ फागुन । आज वि.सं. २००७ सालको प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्ती । सोही अवसरमा काठमाडौँको माइतीघर मण्डलामा १०९ वटा मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरियो ।

रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले ०७ सालको क्रान्तिमा जननायक रामप्रसाद राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले राईलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नु पर्नेमा जोडका थिए ।

वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राई १५ वर्षकै उमेरमा वि.सं. १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए । ९ वर्ष सैन्यसेवामा कार्यरत उनी पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गरेका राई पछि राणाविरोधी जनक्रान्तिमा होमिएका थिए । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढङ्गले बेपत्ता पारिएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई, पूर्व सांसद तथा राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, प्रतिष्ठानका सल्लाहकार पारुहाङ राई, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजिन श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्