Logo

नैतिकता बिर्सेर देउवाले दलको नेतामा दाबी गर्नुहुँदैन : पौडेल



फागुन २०, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो सयम पार्टीलाई मूल्य मान्यता, नैतिक आदर्श र प्रजातान्त्रिक सिद्धान्तको बाटोमा हिँडाउने कि साम दाम दण्डभेदको बोटामा हिँडाउने भन्नेमा द्धन्द्ध भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले आफू नैतिक आदर्श र प्रजातान्त्रिक सिद्धान्तको बाटोमा कांग्रेसलाई हिँडाउनका लागि संघर्षरत रहेको बताए ।

“पार्टीलाई लोकतन्त्रको आदर्शमा हिँडाउ भनेर नै संघर्ष गरिरहेका छौँ ।” पौडेलले भने ।

पछिल्लो समय कांग्रेसमा नैतिकताको खडेरी भएको चर्चा भइरहेका बेला नेता पौडेलले कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसको अवसर पारेर पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

संसदीय दलको नेतामा देउवा आफै अघि सरेपछि रुष्ट बनेका पौडेलले चुनावमा कांग्रेसले भोगेको पराजयको नैतिक जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।
पार्टीभित्रैबाट दलको नेता नबन्नका लागि देउवालाई दबाब दिइरहेका बेला शनिवार भने देउवाले आफू दलको नेता बन्ने र पौडेल पक्षबाट उपनेता बनाउने प्रस्ताव पौडेलसमक्ष लगेका थिए ।

तर पौडेलले भने कांग्रेसले चुनावमा लज्जास्पद पराजय भोगेपछि पनि देउवाले नैतिकता नदेखाएको आरोप लगाएका छन् ।

“उहाँप्रतिको हाम्रो अरु कुरा केही पनि होइन । ठिक छ, मिलेर जान सकिन्छ, जानुपर्छ । तर चुनाव हारेपछि नैतिकताका आधारमा दलको नेता अरुलाई बनाउनुपर्छ । किसुनजीको बाटोभन्दा बाहिर जानु राम्रो होइन ।” पौडेलले भने ।

देउवाले नैतिक जिम्मेवारी लिएर दलको नेतामा अग्रसर नहुन पौडेलले सुझाब दिएका छन् ।

संकट र चुनौतिका बेला पार्टीलाई एकताबद्ध गर्नुपर्ने र त्यसका लागि देउवाले नैतिकता देखाउनुपर्ने उनको भनाई छ ।

संसदीय दलको नेतामा देउवाले सहयोग गरे सर्वसम्मत हुन सक्ने भन्दै पौडेलले कांग्रेसका संस्थापक नेताहरुले देखाएको नैतिकताको बाटोमा अहिले पनि हिँड्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्