Logo

संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुगे सहयोग गर्छौँ : झा



फागुन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले मधेशी जनताको अधिकार सुनिश्चित नभएसम्म आफूहरु सरकारमा नजाने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता झाले आफूहरुले भनेअनुसार संविधान संशोधन नभएसम्म सरकारमा नजाने निष्कर्ष निकालिएको बताए ।

संघीय समाजवादी फोरम सरकारमा जान लागेको कुरा आफूहरुलाई थाहा नभएको भन्दै झाले संविधान संशोधनका लागि सरकार तयार भएको भन्ने कुराका बारेमासमेत कुनै जानकारी नभएको बताए ।

सरकार निर्माणका लागि एमाले र माओवादीबिचको गठबन्धनले नै बहुमत पुग्ने भएकाले आफूहरु सरकारमा जानुपर्ने अवस्थासमेत नरहेको उनको भनाई छ ।

“हाम्रो सहभागिताबिना सरकार बन्न नसक्ने अवस्था भएको भए हामीले विचार गथ्र्यौँ । तर सरकार बनिसकेको छ ।” झाले भने ।

संविधान संशोधनका लागि दुई तिहाई बहुमतको आवश्यकता परेको खण्डमा आफूहरु सरकारलाई सहयोग गर्न तयार हुने उनले बताए ।

संविधान संशोधनको एजेण्डा राजपाको बटमलाईन भएको झाले स्पष्ट पारेका छन् ।

फोरमसँगको सहकार्य टुटेको हो भन्ने धमलाको प्रश्नमा झाले आफूहरुले सहकार्य
नतोडेको बताए ।

“सहकार्य न जुटेको छ, न टुटेको छ, जे छ त्यही छदैछ । तर फोरमले अब सहकार्य हुँदैन भनेको हो भने हुँदैन ।” झाले भने ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले शनिवार नेपाली बहसमा कुरा गर्दै राजपासँगको सहकार्य प्रदेश नम्बर दुईको चुनावका लागि मात्रै भएको भन्दै अहिले उक्त सहकार्य टुटिसकेको बताएका थिए ।

तर झाले भने उपेन्द्रले बोलेका कुराका बारेमा आफूहरुले बोल्नुपर्ने कुनै जरुरी नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्