Logo

ज्येष्ठ सदस्य ठाकुरले राष्ट्रपतिबाट सपथ लिए



काठमाडौं, २० फागुन । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।

प्रतिनिधिसभाका नवनिर्वा्चित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो ।

नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उहाँपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने छन् ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गरेका छन् ।

त्यसअघि आज दुवै सदनका सदस्यको शपथ हुन लागेको हो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्