Logo

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु



रत्ननगर, चितवन, २२ फागुन  : चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी श्रीमती ५२ वर्षीया निरमायाँ प्रजा (चेपाङ) को ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सोमबार साँझ ५ः३५ बजे घटना भए पनि प्रहरीलाई भने राति करिब ९ः३० बजेतिर मात्रै खबर आएको जनाइएको छ । एक्कासि ढिस्कोले पुरेपछि स्थानीयले ढिस्को पन्छाएर निकालेको केही समयमै उनको मृत्यु भएको स्थानीय शिक्षक बालकृष्ण थपलियाले जानकारी दिनुभयो । सो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्छ ।

भूकम्पपीडितका लागि आएको रकमबाट घर बनाउन घडेरी खार्ने क्रममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो । घटनाको मुचुल्का उठाउन आज बिहान प्रहरी टोली घटनास्थल गएको जनाइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्