Logo

अदालतको अवहेलना मुद्दा खेपिरहेका गोविन्द केसीविरुद्ध अख्तियारमा पनि उजुरी



फागुन २२, काठमाण्डौ । अदालतको अवहेलना मुद्दा खेपिरहेका प्रा.डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. केसीविरुद्ध अख्तियारमा उजुरी परेको हो । युवा संघ नेपालको केन्द्रीय विभागका सचिव विपिन ढकालले डा. केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

सो उजुरीमा ढकालले डा. केसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । अख्तियार स्रोतले पनि उजुरीमा माग गरिएअनुसार छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ । नेता ढकालले केसीविरुद्ध अख्तियारमा दर्ता गरेको उजुरीमा चारवटा आरोप लगाएका छन् ।

डा. केसीले सरकारी सेवामा रहेर सेवाबाट विमुख भई अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावित पारेको, सडक आन्दोलनमा उत्रिएको र न्यायपालिकाको गरिमामा आँच आउने गरी गतिविधि गरेको आरोप लगाइएको छ ।

यस्तै, दोस्रो बुँदामा शैक्षिक प्रमाणपत्र तथा सेवा आवेदनलगायत विभिन्न ठाउँमा फरक–फरक जन्ममिति राखी लाभको पदमा बसेको आरोप छ ।

तेस्रो बुँदामा केसीले ऐन–कानुनको अवमूल्यन गरी विधिको शासनको बर्खिलाप गरेको आरोप लगाएको छ ।

यस्तै, चौथो बुँदामा सरकार तथा सरकारी संयन्त्रलाई कमजोर देखाउने प्रयास गरेको र संसद् तथा न्यायालयको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने गतिविधि गरेको र अभिव्यक्ति दिएको आरोप लगाइएको छ । उजुरीकर्ता ढकालले यी आरोपमाथि छानबिन गरी उनीविरुद्ध कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्