Logo

संविधान गतिशील राजनीतिक दस्तावेज : यादव



काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । संविधानमा संघीयता र धर्मनिरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उनले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गरे ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा प्रणाली र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले ती विषयमा सबैको समान मत भएमात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राखे ।

बन्द भएका उद्योगधन्दा सन्चालन गर्नुपर्ने र नयाँ उद्योगधन्दाको स्थापनाका लागि सामूहिक प्रयत्न जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले आर्थिक वृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताइन् ।

नेमकिपाका प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि घुसखोरी र कमिसनखोरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, विद्युत् खरिद गर्ने अवस्थाको अन्त्य हुनुपर्ने र स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै रोजगारीको खोजीका लागि विदेशिने युवालाई यहीँ राख्न विशेष पहल गर्नुपर्ने बताए ।

राप्रपाका राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्