Logo

माधव र बामदेवको मौनताले विद्यादेवीलाई चिट्ठा, झलनाथ असन्तुष्ट, ओलीको ईच्छा पूरा



फागुन २३, काठमाण्डौ । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी पुनः दोहोरिने पक्का भएको छ । नेकपा एमालेको भागमा परेको राष्ट्रपति पदमा भण्डारीलाई नै दोहोर्याउने एमाले स्थायी समितिको बैठकको निर्णयपछि उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्दैछिन् ।

एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा एकमत नभएपछि मंगलबार स्थायी समिति बैठक बसिएको थियो ।

भण्डारीलाई दोहोर्याउने मत एकातिर थियो भने पूर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने चाहना देखाएपछि उनको पक्षमा पनि केही नेताहरु उभिएका थिए ।

दुई जना मध्ये कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गर्न स्थायी समितिको बैठक बसेको थियो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा राति एक बजेसम्म एमाले नेताहरु छलफलमा व्यस्त भएको बताइएको छ ।

राष्ट्रपतिको मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा डाकिएको बैठकमा शीर्ष नेताहरु शान्त रुपमा प्रस्तुत भएका थिए भने स्थायी समितिमा रहेका तल्लो तहका नेताहरुले भने केही बहस गर्ने प्रयास गरेका थिए ।

राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णयका लागि डाकिएको बैठकमा वामदेव गौतम र माधव नेपाल खासै बोलेनन् ।

गौतम र नेपालले खनालको पक्षमा बोलने अपेक्षा गरिएको थियो । तर गौतम मौन बसे भने नेपालले पनि भण्डारीको विपक्षमा बोलेनन् । अर्थात खनालको पक्षमा पनि बोलेनन् ।

गौतम र नेपालले खनालको पक्षमा नबोलेपछि ओलीको चाहनाअनुसार भण्डारी सम्भावना बलियो बन्यो ।
परिस्थितीलाई नियालिरहेका खनालले आफू राष्ट्रपतिको दौडबाट बाहिरिएको बताएका थिए ।

आफ्नो चाहना पूरा नहुने देखेपछि खनाल रुष्ट बन्दै ओलाीलाई भने, ‘ल तपाई चलाउनोस् ।’

एमाले बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव धनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायतका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका थिए ।

विद्याले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर गुट चलाउने गरेको उनीहरुको आरोप थियो ।

प्रदेश नम्बर तीनको मूख्यमन्त्रीमा आफू उम्मेदवार बन्दा जित्ने सम्भावना हुँदा हुँदै पनि भण्डारीले चलखेल गरेका कारण आफू पराजित भएको भन्दै शाक्य कडा रुपमा प्रस्तुत भएकी थिइन् ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्री छनोट गर्ने बेलामा राष्ट्रपति भण्डारीले अष्टलक्ष्मी शाक्यलाई मत नदिनु भन्दै एमाले सांसदहरुलाई टेलिफोन गरेको आरोप लगाईको थियो ।

बैठकमा सचिव योगेश भट्टराईले पनि खनाल प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नहुने तर्क गरिएकोमा आपत्ति जनाउँदै खनालको पक्षमा बोलेका थिए ।

बैठकमा भीम रावलले पनि माधव नेपालकै लाइनमा उभिँदै झलनाथको पक्षमा बोलेनन् । उनले विद्याको घुमाउरो पारामा समर्थन गरे ।

एमालेको स्थायी कमिटीमा २२ जना नेता छन् । तिनै नेताबिच अनौपचारिक शैलीको छलफल भयो । तर राष्ट्रपति कसलाई बनाउने भन्ने राष्ट्रकै लागि महत्वपूर्ण मानिने विषयमा निर्णय गर्न केन्द्रीय सदस्यहरुलाई समेत कुनै भूमिका दिइएन । केन्द्रीय सदस्य वा पोलिटब्यूरो सदस्यसम्मलाई पनि अपनत्व लिन नदिई राष्ट्रपतिको उम्मेदवार तय गरियो ।

यस विषयले एमालेभित्र असन्तुष्टी पैदा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्