Logo

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु



अबुजा, २४ फागुन : नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो ।

हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताउनुभयो ।

उहाँले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गर्नुभएको छ । घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिनुभयो ।

हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारबालाहरूले बताएका छन् ।  हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाडै नियन्त्रण हुने अपेक्षा गरिएको बताउनुभएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्