फागुन २४, काठमाण्डौ । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।
यसअघि पहिलो खेलमा जिम्बाब्बेसँग हारेको नेपालले आजको खेलमा स्कटल्याण्डसँग पराजित भएको हो ।
नेपालले दिएको १५० रनको सामान्य लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए ।
स्कटल्याण्डलाई ४ विकेटको जित दिलाउँदा कप्तान केल कोत्जरले नटआउट ८८ रनको योगदान गरे । ओपनिङ गरेका कोत्जरले १३६ बल खेल्दै ७ चौका र ३ छक्का समेत प्रहार गरे । अर्को छेउबाट विकेट झरेपनि कोत्जरले एक छेउबाट स्कटिस इनिङ्स सम्हाल्दै लगातार तेस्रो जित दिलाए । नेपालले कोत्जरको विकेट लिन सकेको भए खेलले अर्कै मोड लिन सक्थ्यो ।
नेपाली बलरहरु बसन्त रेग्मी र सन्दिप लामिछानेले दुईदुई तथा दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए पनि जिताउन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन गरेको थियो ।
कप्तान पारस खड्काले ६३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले निकै कमजोर प्रदर्शन गरे ।
ओपनर ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका थिए भने अर्का ओपनर दिलिपनाथले पनि चार रन मात्रै जोडे ।
त्यसै गरी दिपेन्द्र ऐरी एक रन मात्रै ल्याए भने भरपर्दा ब्याट्सम्यान भनिएका शरद भेषवाकर शुन्य रनमा आउट भएका थिए ।
अरिफ सेख पनि दुई रनमै आउट भए । सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रनमा आउट भए । बसन्त रेग्मी २४ रनमा अविजित रहे पनि सम्मानजनक योगफल हुन सकेन ।
सन्दिप लामिछानेले ६ र ललित राजवंशीले चार रन जोडेका थिए । नेपाललाई कम स्कोरमा रोक्न सुरुवातदेखि नै उत्कृष्ट बलिङ गरेको स्कटल्याण्डका बलरले विकेट पनि निरन्तर लिए। यसअघिका दुघ खेल नखेलेपनि नेपाल विरुद्ध स्टुअर्ट ह्विलिङटनले राम्रो बलिङ गरे ।
उनले १० ओभर बलिङ गर्दा ३५ रन खर्चेर नेपालको ३ विकेट लिए। यस्तै ८ ओभर बलिङ गरेका सरिफले २ मेडन राख्दै २१ रन मात्र खर्चेर २ विकेट हात पारे। एलासदाइर इभान्सले ८.४ ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर २ विकेट नै लिए ।
स्कटिस बलरले नेपालका खेलाडीलाई छक्का हान्न समेत दिएनन् ।