Logo

सडकमा अब प्रहरीको अनुहार होइन वत्ती हेर्नुहोस्



काठमाडौं, २५ फागुन । काठमाडौं उपत्यकाको चोकहरूमा बाटो काट्दै हुनुहुन्छ भने कि सडकमा कुदिरहेको गाडी हेर्नुपर्ने हुन्छ कि ट्राफिक प्रहरीको हातको इशारा वा बोर्ड हेर्नुपर्छ ! त्यस्तै अवस्था छ सडकमा गाडी चलाउनेहरूको । चोक चोकमा सबैको ध्यान बढी ट्राफिक प्रहरीमा पर्नेगर्छ । अवैज्ञानिक तवरले अनुमानको भरमा निश्चित समयको अन्तराल पारेर प्रहरीले गाडीलाई रोक्ने र बढ्ने संकेत गर्दै आएको छ । आउँदो हप्ताको मङ्गलबारबाट काठमाडौंको सडक दृश्य बदलिनेछ । सडकमा अब प्रहरी होइन वत्तीमा ध्यान दिनुपर्ने हुन्छ ।

काठमाडौंको चोकहरूमा एकसाथ ट्राफिक वत्तीले काम गर्नेछ । वत्ती राखिएका ठाउँहरूमा बिग्रिएको मर्मत गरिनेछ भने नराखिएको ठाउँमा राखेर वत्तीलाई सुचारु गरिनेछ । अब ट्राफिक नियमानुसार रातो, सुन्तला र हरियो वत्ती बलेर सडकका गाडी देखि पैदलयात्रुलाई रोक्ने या बढ्ने संकेत गर्नेछ ।

ट्राफिक प्रहरी महाशाखामा प्रमुख सर्वेन्द्र खनालले आयुक्त भएर आएकै दिन आफूले काठमाडौंमा ट्राफिक वत्ती राख्ने अवस्था बनाएरै छाड्ने बोलेका थिए । आगामी हप्ता काठमाडौंमा ट्राफिक वत्तीले काम गर्न थालेपछि उनको बोली व्यवहारमा परिणत हुनेछ । भावी आइजीपीका रूपमा हेरिएका खनाल अधिकांश समय सडकमा देखिन्छन् । उनले ट्राफिक व्यवस्थापनका लागि कोठमा भन्दा बाहिर सडकमा आफूलाई सक्रिय बनाए ।

सार्वजनिक यातायात चलाउने देखि सहायकलाई समेत अनुशासनमा राख्ने योजना कार्यान्वयनमा ल्याए । जस अनुसार बोली र व्यवहारमा सुधारका लागि चेतनामूलक र सचेत गराउने सम्मको कार्यक्रम सडकमा गराए ।

खनालको योजना अनुसार आउँदो हप्ताबाट सवारी चालकले अनिवार्य रुपमा पहेलो पोशाक लगाउनेछन् । यसअघि सार्वजनिक यातायात चलाउने सवारी चालकले आफूलाई मनपर्ने पहिरन लगाउँथे । सार्वजनिक यातायातका सहयोगीले समेत निश्चित पोशाक लगाउनुपर्नेछ ।

नेपालमा सवारी साधनको तुलनामा सडक साँघुरो र लम्बाई पनि कम हुँदा समेत अन्य देशको तुलनामा कम जाम पर्ने गरेको तथ्यांक समेत सार्वजनिक भयो । भारतको नयाँ दिल्लीको सडकको लम्बाई र चौंडाईको अनुपातमा सवारी संख्या तुलना गर्दा नेपालमा सडकको लम्बाई र चौंडाई अनुपातमा सवारीको संख्या बढी भएपनि कम जाम हुनेगरेको तथ्यांक छ । यसबाट भारतभर नेपालको ट्राफिक व्यवस्थापनबाट सिक्नुपर्ने प्रसङ्गले चर्चा पाएको छ ।



प्रतिक्रिया दिनुहोस्