Logo

निर्विरोध निर्वाचित सभामुख महराको बारेमा कांग्रेस नेता रिजालले गरे प्रशंसैप्रशंसा



काठमाडौं, फागुन २६ : सांसद कृष्णबहादुर महरा पहिलो संघीय संसदको सभामुखमा निर्वाचित भएका छन् । शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराबिरूद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए। ‘संसदको काम सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने नै हो’, नेम्वाङले भने, ‘संविधान कानून बनाउन नेतृत्वदायी भूमीका उहाँको हुनेछ। जनताप्रति सरकारलाई उत्तरदायी बनाउन उहाँको भूमीका हुनेछ। त्यसमा उहाँ सफल हुनु हुनेछ। सबैलाइ समेटेर लैजानु हुनेछ भन्ने अपेक्षा छ।’

महरालाई माओवादी केन्द्रका सांसद देव गुरुङले समर्थन गरेका थिए। प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि संसदमा महरालाई समर्थन गरेको थियो।

संसदमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि महरालाई पार्टीको समर्थन रहेको बताए। ‘उहाँ अनुभवी नेता हुनुहुन्छ, उहाँले तटस्थ रुपमा काम गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले समर्थन गर्न लागेका हौँ’, रिजालले भने, ‘दुईपटक संविधानसभाका अध्यक्ष भैसकेको मानिसले ल्याएको प्रस्ताव पक्का पनि विचार गरेर ल्याएको हुनुपर्छ भनेर हामी सकारात्मक भयौँ।

अझ विगतमा संविधानसभाबाट संविधान बन्दैन प्रक्रिया ठिक छै भनेर हिँडेका देव गुरुङले समर्थन गरेपछि हामीले पनि समर्थन गर्नुपर्छ भन्ने नीति बनायौँ।’

रिजालले संसद ‘चेक एण्ड ब्यालेन्स’ गर्ने थलो भएको उल्लेख गर्दै सरकार हेपाहा भएको बेला कानुन मिच्न लागेको बेला करेक्सन गराउने भूमीका महराले निभाउने आशा व्यक्त गरे। ‘त्यस्तो बेला मेरो पार्टीको काम भनेर नाजाजय कामलाई समर्थन गर्नुहुन्न र सहि भूमीका निर्वाह गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ’, रिजालले भने।



प्रतिक्रिया दिनुहोस्