Logo

कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड गर्दा विमान दुर्घटना, यस्तो छ दुर्घटनाको खास कारण



फागुन २८, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।

प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भनेको उनले बताए ।

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

विमानस्थल कार्यालयको एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत रनवेबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको देखिएको छ ।

विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो ।

विमानले अवतरणका लागि ०२ को साटो २० मार्ग समात्नुमा चालकको कमजोरी हो या विमानमै कुनै प्राविधिक खराबी देखिएकाले त्यस्तो हुन पुगेको हो भन्ने खुलेकोे छैन । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले एटेम्ट गर्न नसकेको स्रोत बताउँछ ।

विमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् ।

विमानहरु पार्किङ भएकोतर्फ खसेको भए अन्य विमानहरुमा पनि आगो लाग्ने र विमानस्थलमा ठूलो क्षति हुन सक्थ्यो, तर चालकले त्यसतर्फ ठोक्किनबाट जोगाएको देखिन्छ ।

प्रत्यक्षदर्शीका अनुसार विमानस्थल छेउको घरमा समेत विमान ठोक्किन लागेजस्तो देखिएको थियो । तर, कुनै पनि घरहरुमा क्षति भएन । र, घरहरुमा वा अन्य विमानहरुमा नटोक्किई विमानस्थलको साइडमा पुगेर विमान जल्यो ।

विमान दुर्घटनाबाट निकै ठूलो मानवीय क्षति भएको छ । तर, संवेदनशील ठाउँमा झरेर जलेको विमानले अन्य संरचनालाई भने क्षति र्पुयाएन ।
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्