Logo

विमान दुर्घट्नाको प्रतिवेदन ६ महिनाभित्रै आउँछ : पर्यटन सचिव देवकोटा



काठमाडौं, २९ फागुन । सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला दुर्घटना नेपालको कारणले नभएको नेपाली सरकारी निकायले दाबी गरेको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले घट्ना भएलगत्तै हिजो नै गठन भएको ६ सदस्यीय छानबिन समितिले आजैबाट काम सुरु गरेको जानकारी दिए । 

उनले भने,‘६ सदस्यीय छानबिन समितिले आजैबाट काम सुरु गर्दैछ । सकेसम्म ५ महिनाभित्रै दुर्घट्नाको विवरण समितिले ल्याउँछ । हामी यो समितिमा बंगलादेशका प्राधिकरण र एटिसीका प्रतिनिधिलाई पनि सहभागी गराउन सकिन्छ, यदि उहाँहरुको तर्फबाट त्यस्तो माँग भयो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पनि छानबिन समितिले आजैबाट काम सुरु गरेकोले छिट्टै प्रतिवेदन आउने विश्वास दिलाए । उनले विमान दुर्घट्ना के कारणले भएको हो भन्ने कुराको सम्पूर्ण विवरण छानबिन समितिको रिपोर्ट आएपछि बाहिर आउने पनि जनाए ।

पत्रकार सम्मेलनमा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनीहरुले विमान दुर्घटना कसको कारणले भएको हो ? भन्ने कुरा अहिले नै एकिनका साथ भन्न नसकिने स्पष्ट पारे ।

दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको जानकारी दिँदै प्राधिकरणका महानिर्देशक गौतमले उक्त प्रतनिनिहरुसँग आजै आफूहरुको भेटवार्ता हुने जनाए । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजी गौतमले एयरपोर्टको कारणले हिजोको दुर्घट्ना भने नभएको जिकिर गरे । त्यस्तै उनले विमानको पाईलट र एटीसीवीचको सम्वाद कसरी बाहिर आयो भन्ने विषयमा पनि आफूहरुले गम्भिर निर्देशन दिएको जनाए । उनले भने,‘त्यो सम्वाद अहिले हामीले राकेको छौं, यसमा दोषीलाई कारबाही हुन्छ ।’

विमानका पाईलटको पनि निधन भएको जनाईएको छ । उक्त विमानको सिईओले नेपालको कारणले दुर्घट्ना भएको भनेर लगाएको आरोपको नेपालले खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक गौतमले भने,‘यो आरोपको म खण्डन गर्न चाहन्छु । कडा रुपमा प्रतिवाद गरे । नेपालाई दोष दिनुहुँदैन्, प्रतिवेदन आउन बाँकी नै छ।’

मन्त्रालय र विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेहरूमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए।

बंगलादेशको उच्चस्तरीय टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन्। यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्