Logo

दुर्घटना कम गर्न डोमेस्टिक बिमानस्थललाई काठमाण्डौबाट अन्यत्र सार्नुपर्छ : आचार्य



फागुन ३०, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि दुर्घटनाको कारणबारे विभिन्न तर्कहरु गरिएको छ । विमानस्थलको कन्ट्रोल रुमले पाइलटले निर्देशन नमान्दा दुर्घटना भएको दाबी गरेको छ ।

उता बंगलादेशी पक्ष अर्थात युएस बंगलाका सिइओले भने कन्ट्रोल रुमले गलत निर्देशन दिएकाले दुर्घटना भएको आरोप लगाएको छ । यद्यपी दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले छानविन आयोग गठन गरिसकेकाले अब आयोगको प्रतिवेदनले प्रमुख कारण खुलाउने छ ।

दुर्घटनाका विषयमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पनि कसले के आरोप लगायो भन्नेतिर आफूहरु केन्द्रि नहुने बताएका छन् । दुर्घटनाको तथ्य के हो भन्ने बारे दुर्घटना जाँच आयोगले विस्तृत छानविन गरेर दिएको प्रतिवेदनका आधारमा निष्कर्ष निकालिने उनले बताए ।

छानबिनको क्रममा बंगलाको सिइओले बोलेका विषयमा पनि समावेश गरिने आचार्यले बताए । दुर्घटना हुनुअघि ब्ल्याक बक्समा रेकर्ड भएको विवरणले यथार्थ पत्ता लगाउने भएकाले अहिले ने हतारिएर आरोप–प्रत्यारोप गर्न नहुने उनले बताए ।
विमानस्थलभित्रै भएको त्रासदीपूर्ण दुर्घटनाले अनेक प्रश्न खडा हुनु स्वभाविक भएको बताउँदै उनले घटना घटिसकेकाले अब कसरी शिक्षा लिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

“विमानस्थल सुरक्षित बनाउनका लागि कसरी अगाडि बढ्ने भन्नेमा हामीले सोच्नुपर्ने दिन आएको छ । अन्तराष्ट्रिय समुदायले पनि हाम्रो देशमा भएको दुर्घटनालाई नियालिरहेको छ । त्यसैले हामी गम्भीर हुनुपर्छ ।” आचार्यले भने ।

शहरी बस्तीको बिचमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल रहेकाले असुरक्षा बढेको उनले बताए । विकल्प खोज्न नसक्ने सरकारको कमजोरी भएको उनले आरोपसमेत लगाए ।

गौतम बुद्ध विमानस्थर र पोखरा विमानस्थल बनेपछि भने केही सहज हुने उनको भनाई छ ।

आन्तरिक विमानस्थललाई पनि अन्तराष्ट्रिय बिमानस्थलसँगै राख्न नहुने आचार्यको तर्क छ । डोमेस्टिक बिमानस्थललाई काठमाण्डौबाट अन्यत्र सार्नुपर्ने उनको भनाई छ ।

“डोमेस्टिकमा पनि ठूला क्षमताका जेट विमानहरु आइसकेका छन् । त्यसैले अब विकल्प दिनुपर्छ । कमसेकम १५ वटा ठूला बिमान अट्न सक्ने विमानस्थलको विकल्प खोजिनुपर्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्