Logo

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन



काठमाडौँ, ३० फागुन : रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ ।

नेपाल सरकारका उच्च अधिकृत सहभागिता रहेको सो तालीममा आर्थिक तथा खाद्य संकट, भ्रष्टाचार, साइबर अपराध, वातावरण परिवर्तन, प्राकृतिक स्रोतको अधिक दोहन, बेरोजगारमूलक शिक्षा नीतिका कारण देशमा राष्ट्रिय संकट उत्पन्न हुने सक्नेलगायतका विषयमा छलफल भइ सुझाव प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी सुशासनको अभाव, जातीय, क्षेत्रीय, धार्मिक तथा लैंङ्गिक विभेद, खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि, तीव्ररुपमा भइरहेको बसाइँसराइ, जल, जमिन तथा ऊर्जाको असमान उपयोग भएमा पनि राष्ट्रिय संकट उत्पन्न हुनसक्ने सुझाव प्राप्त भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित समग्र राष्ट्रसेवक कर्मचारी, आम सञ्चारमाध्यम, नागरिक समाज र आम नेपाली जनताको साथ सहयोगबाट मात्र राष्ट्रिय सुरक्षा सुनिश्चित हुने निष्कर्षसहित सोहीबमोजिमको राष्ट्रिय सुरक्षा नीतिनिर्माण गर्न तालीममार्पmत सरकारको ध्यानाकर्षण गरिएको छ ।

तालीम समापन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्पष्ट सुरक्षा नीतिका साथ मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई सम्बोधन गरिने बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले ताजा जनादेशमार्फत अत्यधिक बहुमत प्राप्त वर्तमान सरकारले राष्ट्रको आवश्यकता र जनभावनालाई ख्याल गरी राष्ट्रिय सुरक्षासहित देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा ल्याउने नीति तथा कार्यक्रममा राष्ट्रका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले तालीममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रह्लाद थापाले राष्ट्रको चारवटै सुरक्षा निकाय, विभिन्न मन्त्रालय, सरकारी सञ्चारमाध्यम रासस र रेडियो नेपाल, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका वरिष्ठ अधिकृतको प्रतिनिधित्व रहेको १० दिने तालीममा २५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

सो समापन समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, रथीवृन्द, विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तालीममा सहभागी विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न क्षेत्रका बुद्धिजीविसहित राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको सहभागिता थियो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्