Logo

बाबुराम र विप्लव माओवादी केन्द्रमै फर्किनुपर्छ : प्रचण्ड



काठमाडौं, १ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भुल गरेकाले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्ने धारणा राखेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताएका हुन । आफूले पटक–पटक फर्किन आग्रह गरेको भन्दै उनले भने, ‘हाम्रो त भनाइ बाबुराम जीहरू समेत यही जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले अघि भने,‘उहाँले धेरै ठूलो भूल गर्नुभएको छ, यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ, अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’

माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले विप्लव समूहलाई पनि पार्टीमा फर्कन आहृवान गरे ।



प्रतिक्रिया दिनुहोस्