काठमाडौं, १ चैत । विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्ले अफ्मा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दैछ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानासम्मको टुंगो लगाउन प्लेअफ खेल्न लागेका हुन् । आजै हुने अर्को खेलमा नेदरल्याण्ड्स र हङकङ भिड्दैछन् ।
नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने छ । पपुवा न्युगिनीविरुद्धको आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको मान्यता पाउन नेपालले पपुवा न्यूगिनीसँग कम्तिमा खेल नहार्नु पर्छ । नेपालको जित र अर्को खेलमा हङकङको हारले नेपालको एक दिवसीय हैसियत निश्चित हुनेछ । यदि नेपालसँगै हङकङ पनि विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।
विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने छन् भने पुछारमा रहने दुई टिम डिभिजन टू मा घटुवा हुनेछन् ।
आजको खेलमा पराजित भएको खण्डमा नेपाल डिभिजन टु मा समेत घटुवा हुनसक्छ ।