Logo

चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित



बेइजिङ, ३ चैत/ चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित हुनु भएको छ ।

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित हुनु भएका सि हाल ६४ बर्षको हुनुहुन्छ । उहाँले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसक्नु भएको छ । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो ।

गत अक्टोबरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो । गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिनु भएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल हुनुभएको छ ।

उहाँ अवदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्नुहुने भएको छ । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिनु भएको थियो । त्यसपछि नै उहाँको कार्यकाल लम्विने स्पष्ट भएको थियो ।

उहाँले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल हुनु भएको छ ।संसद्ले सिका निकट मानिनुहुने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उहाँलाई निर्वाचित गरेका हुन् । उहाँ निर्वाचित भएको घोषणा भएलगत्तै उहाँसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिनुभएको थियो । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसक्नु भएको छ ।

सन् १९४८ मा जन्मिनु भएका वाङ विगत केही बर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहनु भएको थियो । (रासस/सिन्ह्वा) 

China’s President Xi Jinping walks to a podium to swear an oath after being elected for a second term during the fifth plenary session of the first session of the 13th National People’s Congress (NPC) at the Great Hall of the People in Beijing on March 17, 2018. China’s rubber-stamp parliament unanimously handed President Xi Jinping a second term on March 17 and elevated his right-hand man to the vice presidency, giving him a strong ally to consolidate power and handle US trade threats. / AFP PHOTO / Greg Baker



प्रतिक्रिया दिनुहोस्