चैत ८, काठमाण्डौ । हरेक दिन झण्डै दुई हजारको हाराहारीमा नेपाली युवा कामका लागि विदेश जान्छन् । नेताहरुको भाषण हरेक दिन सुनिन्छ, देशमै रोजगारीको अवसर सृजना गर्छौँ, विदेश गएका नेपाली युवालाई स्वदेश फर्काउँछौँ ।
केपी ओली नेतृत्वको सरकार बनेपछि धेरैले विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरेका छन् । तर अहिलेसम्म कुनै योजना सार्वजनिक भएको छैन, जसले कामका लागि विदेश जान नपरोस् ।
विदेश जान लागेका युवालाई किन तपाई विदेश जानुहुन्छ भनेर सोध्यो भने जवाफ आउँछ, देश चलाउनेलाई सोध्नुस् । पक्कै पनि रहरले नेपाली युवा विदेश गएका होइनन् ।
विहिबार ग्लोबल आइएमइ बैँकको सबैजसो शाखामा नेपाली युवायुवतीको लाइन थियो । दक्षिण कोरिया जानका लागि ।
काम र दाम दुवैको कारण युवाहरुको आकर्षक गन्तव्य मुलुकको रुपमा दक्षिण कोरिया स्थापित भएको छ । नेपाली युवाहरुको रोजाई दक्षिण कोरिया र दक्षिण कोरियाको रोजाईमा नेपाली युवा । नेपालमा काम पाइहाले पनि कामअनुसारको पारिश्रमिक नपाउने भएकाले विदेश जानेहरुको संख्या बढ्दै गएको छ ।
दक्षिण कोरिया जानका लागि अहिले नवौँ चरणको कोरियन भाषा परीक्षाको प्रक्रिया सुरु भएको छ । भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले बिहिबारदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ ।
भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर आवेदन शुल्क भने बैँकमार्फत बुझाउनुपर्ने छ । जसका कारण परीक्षामा सहभागि हुन चाहनेहरु बैँकमा पुगेर लाइन बस्नुपर्ने बाध्यता छ । आवेदन भर्दा लाइन बस्ने झन्झट गत वर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।
ग्लोबल आईएमई बैंकका शाखाहरुमा परीक्षार्थीहरुको विहिबार बिहानैदेखि लामो लाइन लागेको थियो । आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन लागेको देखिन्थ्यो ।
स्नातकोत्तर गरेका युवा युवतीहरु स्वदेशमै रोजगारी खोज्ने प्रयास गररे पनि भनेजस्तो जागिर नपाइए पछि आपनो देश छाडेर अन्य मुलुक जान बाध्य हुनु परेकोमा गुनासो पोख्ने गर्छन् । काम पाइहाले पनि कामअनुसारको पैसा नपाउने समस्याले गर्दा नेपाली युवाहरु विदेश जान बाध्य छन् ।
नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य बन्दै आइरहेको र करिब एक लाख रुपैयाँ खर्च गरेर मासिक डेढ लाखसम्म कमाइ हुने भएपछि कोरिया आकर्षण बनेको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको अर्थात २०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् ।
अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । षा परीक्षामा पास भएकाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्छ । एचआरडी कोरिया, इपिएस सेन्टर नेपाल कार्यालयले स्वास्थ्य परीक्षणका लागि विस्तृत जानकारी दिनेछ ।
स्वास्थ्य परीक्षणमा स्वस्थ भएकाहरुले आवश्यक कागजात सहित रोजगारका लागि आवेदन गरिन्छ । रोजगार आवेदन गरिसकेका व्यक्तिको रोष्टर निर्माण दुई महिना भित्रमा भइसक्छ । थप दुई महिनाभित्रमा नै कोरियाको मानव संसाधन विभागले रोष्टर प्रमाणित गर्छ । त्यसपछि उनीहरु औपचारिक रुपमा कोरिया जाने योग्य सूचि (रोष्टर)मा रहन्छन् ।
त्यसमा पनि उच्चतम अंक ल्याउने ३० प्रतिशतले उनीहरुले चाहेको अवस्थामा स्किल टेष्टमा सहभागी हुन सक्छन् । स्कील टेस्टका नोभेम्बरको अन्तिमबाट शुरु हुने भएकाले सबै प्रक्रियाहरु पूरा भइसकेपछि मात्रै उनीहरु कोरियाको रोजगारीमा जान सक्छन् । सन् २००८ देखि सरकारीस्तरबाटै कोरियाले भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो ।
त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा कोरिया पुग्ने नेपाली न्यून संख्यामा थिए । सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न भएपछि कोरिया नेपाली युवाको सर्वाधिक आकर्षक गन्तव्य बनेको छ । भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना त्यहाँ बस्न पाउँछन् । अहिलेसम्म करिब ५० हजार नेपाली युवा दक्षिण कोरिया पुगिसकेका छन् ।
नयाँ सरकार बनेको दुई महिना पनि भएको छैन । यस्तो अवस्थामा अहिले नै विदेश जानुपर्ने अवस्थाको अत्य हुन सक्दैन । तर योजना कस्ता बन्छन् भन्ने कुराले भविष्यबारे अनुमान गर्न सकिन्छ । तर सरकाले अहिलेसम्म भविष्यबारे अनुमान गर्नका लागि कुनै योजना पनि ल्याएको छैन ।
भाषण भने हरेक दिन हरेक मन्त्रीको मुखबाट सुन्न पाइन्छ । अधिकांश मन्त्री भन्छन्, अब कामका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गछौँ ।
आशा गरौँ, अब नेपाली युवा काम खोज्न विदेश जान पर्दैन ।