चैत ९, काठमाण्डौ । नेपालका प्रधानमन्त्री, मन्त्री र नेताका भाषण व्यवहारमा लागु हुन्थ्यो भने अहिले नेपाल यस्तो अविकसित अवस्थामा रहने थिएन ।
यति वर्षमा यो काम र उति वर्षमा त्यो काम गर्छौँ भनेर जनता झुक्याएको वर्षौँ भयो । नेताहरुले भनेको हुने भए नेपाल सिङ्गापुर जस्तो भइसक्थ्यो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले बोलेका कतिपय विकासका कुराले जनता आजित भएका थिए । ओली आलोचित । तर ओलीले भनेका कुरा असम्भव भने केही पनि थिएन ।
तर हतारमा बोल्ने मात्रै, काम भने नगर्ने प्रवृत्तिले जनताले विश्वास नगरेका हुन् ।
दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले पुनः महात्वाकांक्षी योजना सुनाउन थालेका छन् ।
शुक्रबार ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका हुन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिनेसमेत उनले बताए ।
काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘२ वर्षअघि मजाक उडाएका थिए । अब २ वर्षपछि ठट्टा गर्ने मान्छे को हुन् भेटिने छैनन् । किनभने रेल कुद्छ ।’
मन्त्री तथा प्रधानमन्त्रीहरुको बोलीको कुनै ठेगान छैन । केही दिनअघि मात्र भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र रेल संचालन गर्ने दाबी गरेका थिए ।
एउटै मन्त्रीपरिषदका फरक फरक सदस्यले एउटै कामको बारेमा दिएका यस्ता फरक फरक अभिव्यक्तिले पुष्टी गर्छ कि, नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरु योजना विना भाषण मात्रै गर्छन् ।
यस्तै प्रवृत्तिले गर्दा नेपाली जनता सरकारप्रति विश्वस्त हुन सकेका छैनन् ।