Logo

धूलोले गाउँ नै बिरामी



काठमाडौं १२ चैत ।  चौतारा साँगाचोकगढी एक्लेफाँटकी ६० वर्षीया चलमाया माझीको स्वास्थ्य दिनहुँ बिग्रँदो छ । दम, प्रेसरको समस्याले दुई वर्षदेखि थलिएकी उनले धूलोको कारणले कहिल्यै आनन्दको श्वास फेर्न पाएकी छैनन् । ‘धूलोकै कारणले दिनकै बिरामी परिरहन्छु, आँखा, नाकदेखि शरीर नै धूलोले ढाकिन्छ,’ उनले दुखेसो पोखिन्, ‘यहाँबाट छोडेर जाउ भन्ने लाग्छ, के गर्ने अन्यत्र जाने ठाउँ छैन, सडकपासमा बस्नु दुर्भाग्यजस्तै बनेको छ ।’

पुस्तौदेखि यहाँ बसिरहेकी माझी परिवारको टहराको नजिकै धुलाम्मे सडकबाट टिपर, मोटरसाइकलजस्ता सवारी हुइँकिरहन्छन् । सडकले विकास र पुनर्निर्माणमा सहयोग गरिरहेको भए पनि धुलाम्मे सडकको कारण परिवारै बिरामी हुन थालेको भिमटारका देवेन्द्र माझीको गुनासो छ। ‘सडकलाई व्यवस्थित नगरिएकाले सबैले सास्ती भोगिरहनु परेको छ,’ माझीले भने, ‘धूलो नियन्त्रण गरेर सडकलाई मर्मत नगरेसम्म स्वास्थ्यमा असर परिरहन्छ।’ उनले क्रसरबाट सञ्चालित टिप्परलाई धेरै पटक रोकेर पानी हाल्न लगाएको घटना सुनाए। ‘धेरै पटक पानी हालियो तर धूलोको समस्याले गाँज्न छाडेको छैन्,’ देवन्द्रले भने, ‘धूलोले ज्वरो, रुघाखोकीदेखि श्वासप्रश्वासमा समस्या बनाइरहेको छ।’ सडक आसपासका झण्डै हजारभन्दा बढी परिवारले धूलोको मार खेपिरहेका छन्।

धूलोबाट समस्या भएपछि स्थानीयले धेरैपटक प्रहरी र प्रशासनमा समस्याबारे पत्र बुझाइसकेका छन्। धूलोमुक्त नबनाइएको कारणले बिरामी परेकोमा सडक बन्द गर्नमै उत्रिएको स्थानीय बताउँछन्। ‘सबै रोकेर आन्दोलन गर्‍यौं, क्रसरलाई धूलो व्यवस्थापन गर्न आग्रह राख्यौं,’ स्थानीय सीताराम माझी भन्छन्, ‘तर, केही सीप लागेन, समस्या झनै बल्झिरहेको छ।’ इन्द्रावती नदीमा सञ्चालित तीन क्रसर उद्योगबाट उत्खनन गरिएका नदीजन्य पदार्थ लिएर यही सडक हुँदै आउने टिप्पर या अन्य सवारीले बस्तीमा धूलो उडाउने गरेको उनले बताए। स्थानीय अनिल माझीले धूलोको असरले गर्दा मान्छेसँगै पशुचौपाय समेत बिरामी पर्न थालेको बताए।

साँगाचोकका वडाध्यक्ष सुशील माझीले एकैसाथ न्यूनिकरण सम्भव नभएपनि सडकको मर्मत सम्भार र स्तरोन्नति गरेपछि आफैं समस्या समाधान हुने दाबी गरे। उनले क्रसरलाई धूलो न्यून गर्न दैनिक पानी छर्न लगाउने गरेको बताए। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्