पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२–६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन् । खुला राजनीतिमा आएसँगै दुई पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । साथै पछिल्लो समय भएका हरेक राजनीतिक परिवर्तनका मुख्य पात्र पनि हुन् । अहिले एमाले र माओवादीबिच पार्टी एकता अन्तिम चरणमा पुगेको छ भने दुई दलबिचको गठबन्धनको सरकार बनिसकेको छ । अध्यक्ष दाहालसँग ऋषि धमलाले शान्ति प्रक्रियाको सुरुवातदेखि अहिलेसम्मको यात्राका बारेमा खोतल्ने प्रयास गरेका छन् ।
धमलाले प्रचण्डसँग गरेको अन्तरवार्ताको सम्पादित अंश यहा प्रस्तुत गरिएको छ ।
नेपालको राजनीति कतातिर जाँदैछ ?
संविधान नबन्दासम्म सबै नेपाली जनतालाई चिन्ता र चासो थियो । संविधान बनेपछि यसको कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तीन त तहको चुनाव होला कि नहोला भन्ने चिन्ता पनि थियो । तर सबै काम भयो । तीन तहको सरकार पनि बन्यो । अब जनतामा भरोसा र विश्वा पैदा भएको छ । हामीले जनताको अगाडि व्यक्त गरेका स्थायित्व, विकास र समृद्धिको एजेण्डा पनि अब कार्यान्वयन हुन्छ ।
तपाईले सुरु गरेको सशस्त्र विद्रोह हुँदै शान्ति प्रक्रियामा आउँदा धेरै उतारचढाब भए । अहिले शान्ति प्रक्रियाको यात्रा पूरा भएको हो ?
आधारभूत रुपमा शान्ति प्रक्रियाले निकास पायो भन्ने मेरो विश्वास छ । शसस्त्र विद्रोहलाई शान्तिपूर्ण ढंगले राजनीतिक रुपान्तरणसहित समाधान गर्ने मौलिक मान्यता नेपालमा स्थापित भयो । यसमा यदी यदी गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ व्यक्तित्व नभएको भए र मैले पनि जोखिम उठाएर भए पनि देशमा यो भन्दा बढि युद्ध होइन, शान्ति र विकासतिर लाग्नुपर्छ, राजनीतिक परिवर्तन समझदारीका साथ लोकतान्त्रिक शक्तिहरुसँगको सहमतिले राजनीतिक परिवर्तन गरेर संस्थागत गर्ने र विकास, यि कामका लागि मैले सबै किसिमका जोखिम उठाउन तयार भएको थिए ।
शान्ति प्रक्रिया टुङ्ग्याउने क्रममा तपाई र गिरिजाप्रसाद कोइरालाबिचको सम्बन्ध कसरी सुमधुर बन्न पुग्यो ?
गिरिजाप्रसाद कोइराला र प्रचण्ड भनेका इतिहासका उपज हुन् । पहिला हाामी कसैलाई व्यक्तिगतभन्दा पनि वस्तुगत राजनीतिक विकास र इतिहासका रुपमा हेर्नुपर्छ । गिराजा दशकौँसम्म नेपाली राजनीतिक संघर्षको उपज हो । उहाँ त्यतिकै गिरिजा हुनुभएको होइन । माओवादी आन्दोलन पनि नेपाली राजनीति र इतिहासको उपज हो । गिरिजाबाबु र मेरो पहिलो भेटबाट नै विश्वासको वातावरण बन्यो । उहाँले मलाई बताउनुभयो कि गणतन्त्रसम्म जाने हो, तपाई मलाई भरोसा गर्नुस्, देश अब गणतन्त्रमा गयो, तर मैले भन्न मिल्दैन । भनेर विश्वास दिलाउनुभयो । उहाँ मानसिक रुपमा गणतन्त्र स्थापना गर्न तयार भइसक्नुभएको थियो, तर त्यो कुरालाई जनतामाझ भनिहाल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । त्यसैले तरिका मिलाएर, कदम मिलाएर गणतन्त्र ल्याउनुपर्छ भनेर मलाई विश्वस्त बनाउनुभएको थियो ।
गिरिजा र तपाईबिचको पहिलो भेट कस्तो भयो ?
पहिलो भेट नै असाध्यै राम्रो भयो । पहिलो भेटमै गिरिजासँग धेरै सहजता भयो, कतिसम्म भने उहाँ असाध्यै स्मोकर हुनुहुँदो रहेछ । पछि त छोड्नुभयो । मेरो पहिलो भेटमा उहाँ यति धेरै सिगरेट पिउनुहुँदोरहेछ, मैले पनि सिगरेट छोडेको थिईन, उहाँ त धेरै बृद्ध, उहाँको अगाडि मैले चुरोट नखाउँ भन्ने लाग्यो, हुन त म पनि चुरोट पिउँथे, तपाई पिउनुहुन्छ त चुरोट भनेर उहाँले सोध्नुभयो, उहाँले नै सहज बनाईदिनुभयो, हामीले पहिलो भेटमै सिगरेट पिउँदै कुरा गरेका हौं, करिब २ घण्टा उहाँसँग कुराकानी भएको हो । भुमिगत कालमा त्यो पनि भारतमा कुराकानी भएको हो । पहिलो भेटकै आधारमा रहेर १२ बुँदे समझादारी हुन सकेको हो ।
उहाँसँगको भेटपछि कस्तो अनूभुति गर्नुभयो ?
पहिलो भेटमा नै हामीबिच छिचोलिएर कुरा भयो । भरोसाका साथ कुरा भयो । उहाँले म अगाडि बढ्छु, तपाईको साथ चाहियो भन्नुभयो । संविधानसभा, गणतन्त्र, राजतन्त्रलगायतका विषयमा कुराकानी भएको थियो । त्यसपछि पछाडि नफर्कने गरी लगातार कुराकानी भयो । पहिला नेपाली कांग्रेस, गिरिजा र हाम्रोबिचमा निकै ठूलो अविश्वासको खाडल थियो । पहिलो भेटबाट नै त्यो खाडल पुरिएको अनुभूति मैले गरेँ ।
तपाई भूमिगत नै हुनुहुन्थ्यो, गिरिजासँग लगातार सम्पर्कमा आउँने चाँजोपाँजो कसरी मिल्थ्यो ?
म कुनै ठाउँमा बसेको थाहा पाउनेवित्तिकै बमबारी भइहाल्थो । केही गरी म बसेको ठाउँ लिकेज भयो भने, भोलीपल्ट त्यहाँ बम खस्यो खस्यो । त्यसकारण म रोल्पामा हुँदा दाङ पुगेर गिरिजालाई फोन गर्थेँ । कहिले रुकुम गएर फोन गर्थेँ । कहिले फोन गर्न सल्यान पुग्थेँ । भारतमा भएका बेला, म त्यसबेला बम्बइमा बसेको थिँए, बम्बइबाट गिरिजाबाबुलाई फोन गर्न गोवा जन्थेँ । साँढे दुईघण्टाको बाटो यात्रा गरेर गिरिजालाई फोन गर्थेँ । फोन गरेपछि फेरी बम्बई नै फर्किन्थेँ । सुरक्षित बन्नका लागि म आफू बसेकै ठाउँबाट फोन गर्थिन । केही गरी फोन गरेको ठाउँ पत्ता लाग्यो भने पनि मलाई गोवामा खोजिन्थ्यो होला, तर म बम्बइ पुगिसकेको हुन्थेँ । यसरी म सुरक्षित हुन्थेँ ।
तपाई र गिरिजाप्रसादबिचको अन्तिम भेटको स्मरण कसरी गर्नुहुन्छ ?
उहाँलाई मैले अन्तिमपटक गंगालाल हृदयरोग केन्द्रमा भेटेको हुँ । उहाँ बिरामी हुनुहुन्थ्यो । उहाँले अरु सबैलाई बाहिर पठाएर मलाई एक्लै अस्पतालको क्याबिनमा राख्नुभयो र भन्नुभयो, देश तपाईको जिम्मामा दिएर जाँदैछु, तपाईले समाल्नुहोला भन्नुभयो । त्यसपछि त उहाँको देहावसान भयो । उहाँको छोरी सुजाताको घरमा देहावसान पछि ।
गिरिजाले देश नै तपाईको जिम्मामा भयो भन्दा कस्तो अनुभूति गर्नुभयो ?
त्यो बुढो मान्छेले, मृत्युशैया नै रहेछ त्यो, उहाँको त्यो कुराले मलाई धेरै भावुक बनायो । जिम्मेवार पनि बनायो । विगतमा मैले केही कुरा मिलाउन नसकेको रहेछु भन्ने पनि अनूभूति भयो । विशेषगरी गिरिजालाई हामीले राष्ट्रपति नबनाउनु ठूलो भूल हो भन्ने मलाई अनुभूति भयो । यो हाम्रो राजनीतिक त्रुटी हो भनेर जनतालाई पनि भनिसकेकोद छु । यदी उहाँलाई राष्ट्रपति बनाएको भए पाँच वर्षमा संविधान पनि बन्थ्यो, देश पनि नयाँ गतिमा जान्थ्यो । तर त्यसबेला पार्टीको आन्तरिक कारणले उहाँलाई राष्ट्रपति बनाउन नसकेको हुँ ।
शान्ति प्रक्रियामा कसकसको भूमिका महत्वपूर्ण रह्यो ?
पहिला गिरिजासँग सम्झौता हुँदा पनि नेकपा एमालेका नेताहरु माधव नेपाल, झलनाथ, केपी ओलीको भूमिका महत्वपूर्ण थियो । कांग्रेसका पनि कृष्णप्रसाद सिटौला, तत्कालिन कांग्रेसका नेता महन्थ ठाकुरको पनि महत्वपूर्ण भूमिका थियो । यसअर्थमा शान्ति प्रक्रिया सबैको सामुहिक प्रयासले सम्भव भएको हो । सबैको प्रयासले ६२–६३ को आन्दोलन र संविधानसभाको चुनाव, संविधान लेखन सम्पन्न भएको हो । यो कुरालाई विर्सन हुँदैन । मेरो कोसिस, शान्ति सम्झौतामा आएपछि र त्योभन्दा पहिला पनि संविधानसभामार्फत संविधान बनाऔँ, हामी शान्ति प्रक्रियामा आउन तयार छौँ भनेर भनेको थिए ।
तपाईको व्यक्तिगत भूमिकालाई कसरी लिनुहुन्छ ?
म विद्रोही नेता हुँदाहुँदै पनि नेपाली कांग्रेस र नेकपा एमालेलाई एक ठाउँमा ल्याउने काममा सफल भएको छु । यो काम इतिहासले मलाई जिम्मा दिएको रहेछ भन्ने अनुभूति पनि हुन्छ । तर यो कुरा तपाईहरुले त्यति बाहिर ल्याउनुहुन्न । गिरिजाबाबुलाई विश्वास गरेर अगाडि बढ्ने कुरा होस वा एमालेका नेताहरुसँग पटकपटक कुरा गरेर, १२ बुँदे समझदारी हुनुभन्दा अगाडि रोल्पामा कमरेड बामदेव गौतम र युवराज ज्ञवालीसँग संविधानसभामार्फत गणतन्त्रमा जानुपर्छ भन्ने सम्झौता भएको थियो । सिलगुढीमा वामपन्थीहरुको वैठक मैले नै गराएँ, जुन चर्चित नै भयो । मान्छेले पत्याउँदैनन्, तर मैले सबैलाई एउटै नारामा ल्याएको हुँ । संविधानसभा र गणतन्त्रको नारामा केन्द्रित गर्ने कुरामा भूमिका खेल्ने अवसर प्राप्त गरेँ । तर गिरिजाप्रसाद जस्तो टावरिङ पर्सनालिटी नभएको भए, एमालेका नेताहरुसँग समझदारीको वातावरण नभएको भए त सम्भव थिएन । त्यसैले सबै काम मैले मात्रै गरेको हुँ भन्न मिल्दैन । भूकम्पपछि संविधान निर्माणमा सबैलाई एकजुट बनाउने काम पनि गरेँ । संविधान जारीभएपछि चुनावको वातावरण बनाउनका लागि मधेशी जनतालाई पनि विश्वासमा लिने कुरामा पनि मेरो भूमिका रह्यो ।
अहिले चाँही कांग्रेससगको सहकार्य छोडेर एमालेसँग पार्टी एकता किन गर्न लाग्नुभयो ?
नेपाली कांग्रेससँगको साथ छोड्यो भन्ने कुरा अहिलेसम्मको यात्राले पुष्टी गर्न सक्दैन । कांग्रेस वा एमालेसँग दुरी बढाएर यो देशको राजनीति अगाडि जाँदैन भन्ने मान्यताबाट म आइरहेको छु । एमालेसँग पार्टी एकता गर्ने कुरा त वैचारिक कुरा हो । कांग्रेससँग त हाम्रो पार्टी एकता सम्भव छैन । वैचारिक रुपमा हामी भिन्न छौँ । पार्टी एकता गर्नका लागि विचार मिल्ने भनेको एमालेसँग नै हो । तर कांग्रेससँगको सहकार्य टुटाउनु हुँदैन भन्ने मान्यतामा छु । मधेशवादी दललाई पनि विश्वासमा लिएर हिँड्नुपर्छ ।
मधेशवादी दलले भनेजस्तो संविधान संशोधनको मुद्दामा तपाई र केपी ओलीको मत मिल्न सक्छ ?
अहिले प्रधानमन्त्री केपी ओलीले पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ भनिसक्नुभएको छ । मैले त पहिलेदेखि नै भन्दै आएको छु । कांग्रेस पनि पहिलेदेखि नै संविधान संशोधनको पक्षमा छ ।
एमालेसँग पार्टी एकता गर्ने निश्चित जस्तै भइसक्यो । तपाई एक्काइसौँ शताब्दीको जनवाद पक्षधर, कसरी जनताको बहुदलीय जनवाद स्विकार गर्नुभयो ?
बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिमार्फत देश विकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो । समाजवादको लक्ष्य लिएर जाने कुरामा दुवै दल एकमत छौँ । यो अवस्थामा बहुदलीय जनवाद भन्दैमा तर्सिने अवस्था छैन । एमालेका साथीहरुले पनि एक्काइसौँ शताब्दीको जनवाद मान्न कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन । किनकी यसमा पनि समाजवादको कुरा छ । दुवै दलको सिद्धान्तले देशमा राजीतिक योगदान दिएको छ । त्यसैले एकले अर्कालाई निषेध गर्नुपर्ने अवस्था छैन । यति मात्रै होइन, कांग्रेसको सिद्धान्तले पनि देशमा ठूलो योगदान दिएको छ ।
पार्टी एकतालाई त माओवादी एमालेमा विलय हुन लाग्यो, एमाले समुद्र, माओवादी नदी, नदी समुद्रमा मिसिन लाग्यो भन्नेहरु पनि छन् नि ?
६४ सालको चुनावमा हामी सबैभन्दा ठूलो दल बन्यौँ । ७० को चुनावमा कांग्रेस ठूलो बन्यो । ७४ मा आएर एमाले ठूलो बन्यो । त्यसैले समुद्र र नदी भन्नुको कुनै अर्थ छैन । बरु दुई ठूला नदीहरु एक भएर महासागरको यात्रामा जाँदैछौँ । सम्माजनक र समानताको आधारमा पार्टी एकता गछौँ ।
केपी ओली र तपाई दुवैजना पार्टीको अध्यक्ष बन्ने भनिएको छ । एउटै पार्टीको पनि दुईजना अध्यक्ष हुन्छ र ?
यो कुनै नौलो कुरा होइन । महाधिवेशनसम्मका लागि अन्तरिमकालका लागि हामीले दुवैजनाले पालैपालो बैठकको अध्यक्षता गर्ने भनेका हाँै । विश्वमा पनि यस्तो अभ्यास हुने गरेको छ ।
महाधिवेशनबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा केही सहमति भएको छ ?
नेतृत्वको विषयलाई पार्टीका सबै तहका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । लिडरसिप कसरी सेट गर्छन् भन्ने चासो सबैमा छ । तर हामीले अहिले नै यस विषयमा केही सहमति गरेका छैनौँ । महाधिवेशनले नै टुङ्गो लगाउने हो । तर म स्वभावैले पनि धेरैंभन्दा धेरैलाई मिलाएर लैजाने क्षमता राख्दछु ।
तपाई विद्रोही नेता, मिलाउनेभन्दा फुटाउने बढि गर्नुहुन्छ भन्ने आरोप छ नि ?
यसले ध्वङ्स मात्रै गर्छ कि भन्ने ठान्छन् । तर म ध्वङ्सभित्र पनि निर्माण खोज्छु । राजतन्त्रको ध्वङ्स गरेर गणतन्त्र निर्माण गरेको हुँ । गणतन्त्र, संविधान निर्माणमा ठूलो भूमिका खेलेँ नि । अहिले कम्युनिष्टहरु मिलाउनका लागि पनि भूमिका खेलेँ । त्यसैले एकता हुने महाधिवेशनमा एमाले र माओवादीको सबै पंक्तिले मलाई विश्वास गर्छ भन्ने कुरामा म विश्वस्त छु ।
महाधिवेशनले तपाई पार्टी अध्यक्ष चयन गर्ला त ?
दुवै दलका नेता कार्यकर्ताले मलाई नेता मान्छन् भन्नेमा म विश्वस्त छु ।
महाधिवेशनपछिको अध्यक्ष प्रचण्ड नै हो त ?
अहिले नै त्यसरी निष्कर्ष निकाल्नु त उचित हुँदैन । मैले अहिले नै दाबी गरेको पनि होइन । महाधिवेशनको अधिकारलाई कटौति गर्ने गरी अहिले नै म अध्यक्ष भन्न मिल्दैन । तर मेरो भरोसा के छ भने मैले एमालेका पनि सम्पूर्ण पार्टी पंक्ति, माओवादी र अन्य कम्युनिष्टहरुको पनि विश्वास जित्न सक्छु भन्ने लाग्छ । सबैलाई मिलाएर लैजानका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ भन्ने लाग्छ ।
एकतापछि दुवै दलका शीर्ष नेताहरुलाई कसरी व्यवस्थापन गनहुन्छ ?
अहिले जस्तै त हो नि । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, स्थायी समिति, पोलिटव्यूरो । सबै मिलिहाल्छ नि ।
केपी ओली नेतृत्वको सरकार पाँच वर्षका लागि नै हो त ?
अहिले म सरकार कमजोर हुने खालको कुनै पनि अभिव्यक्ति दिन्न । एक वर्ष हो कि, दुई वर्ष हो कि भनेर अहिले नै सरकारलाई अस्थिर बनाउने प्रयास हुन सक्छ त्यसको म विरोधी हुँ । त्यसैले चितवन गएका बेला ओली नेतृत्वको सरकार पाँच वर्ष चल्छ भनेर बोलेको हुँ । पाँच वर्ष यही सरकार चल्नुपर्छ ।
पछिल्लो समय माधवकुमार नेपालसँग तपाईको कुरा मिलेको हो ?
एमालेसँग कुरा मिल्नु भनेको माधवसँग पनि हो, झलनाथसँग पनि हो, सबैसँग हो । तर नेतृत्वका हिसाबले मुख्य रुपमा केपी ओलीसँग कुरा मिलेको हो । किनकी कम्युनिष्ट पार्टीमा नेतृत्वको अधिकार बढि हुन्छ । त्यसैले ओली र मबिचको समझादारीले नै एकता सम्भव हुने हो ।
ओली र तपाईबिच कुनै बेला आरोप प्रत्यारोप मात्रै हुन्थ्यो । अहिले कुरा मिल्नुको रहस्य के होला ?
यसको फिलोसोफिकल र पोलिटिकल एक्सपेक्ट छ । राष्ट र जनतालाई केन्द्रमा राखेर इमानदारिताका साथ सोच्ने हो भने नयाँ परिवर्तन हुन्छ । हामी र गिरिजा पनि राम्रो सम्बन्ध थिएन । पछि भयो । केपी ओली पनि ठाडठाडै भन्ने । म पनि ठाडठाडै भन्ने नै हो फेरी । तर अहिले एकअर्काको महत्व वोध भयो । उहाँ पनि केही नयाँ गरौँ भन्ने सोच, मेरो पनि त्यही सोच । त्यसैले हामी मिल्यौँ । हामी दुईजना छलफलमा बस्दा कुरा निस्किएको थियो, उहाँ १४ वर्ष जेल बस्नुभयो, म १४ वर्ष वनवास, जङ्गलवास । हाम्रो सल्लाह भयो, १४ वर्ष जेल बस्दा र १४ वर्ष वनवास बस्दाको अनुभवबाट के भयो भन्ने कुरा संश्लेषण गर्ने । उहाँबाट पनि विशिष्ट चरित्र आयो, मबाट त्यस्तै । दुईवटा विशिष्ट पात्रहरु मिल्न पनि सक्ने र झगडा पनि गर्न सक्ने भन्ने सश्लेषण गरियो ।
अब कसरी अगाडि बढ्ने त ?
ओली र ममा धेरै समानता छ । हामीलाई व्यक्तिगत रुपमा फाइदा लिनुपर्ने केही पनि छैन । म पनि पारिवारिक रुपमा धेरै पिडा भोगेर आएको छु । ओलीजिका सन्तान छैनन् । त्यसले नेपाली जनता नै हाम्रा सबथोक हुन् । अब देश र जनतको समृद्धिबाहेक हाम्रो कुनै सपना छैन ।
देश विकास र समृद्धिको नारा छ । यो कसरी सम्भव छ ?
पहिलो कुरा नेपाली जनता धनी हुनुपर्यो । धनी हुनका लागि स्थायी सरकार हुनुपर्छ । आन्दोलन र अराजकता हुनुहुँदैन । म दश महिना प्रधानमन्त्री हुँदा एक दिन पनि आन्दोलन भएन । त्यसैले त आर्थिक वृद्धिदर भयो । लोडसेडिङ अन्त्यका लागि मन्त्री जनार्दश शर्मा र विद्युत प्राधिकरणका एमडि कुलमान घिसिङलाई व्यस्त बनाएँ । जसले गर्दा फटाफट आर्थिक वृद्धिद्धर बढ्यो । त्यसैले राजनीतिक स्थायित्वसँग आर्थिक विकास जोडिन्छ । राजनीतिक रुपमा राम्रो वातावरण भयो भने देशभित्रकै निजी लगानीकर्ता पनि आकर्षित हुन्छन् । विदेशी लगानीकर्ता पनि आउँछन् । विदेशी लगानी नल्याइकन विकास गर्छौँ भनेर हुँदैन । त्यसैले राजीतिक स्थायित्वबाट सबै कुराको बाटो खुल्छ ।
वाम गठबन्धन र पार्टी एकता चिनले गराइदिएको भन्छन् नि ?
यो गलत हो । हामी आँफै मिलेका हौँ । एमाले र माओवादी मिल्नुमा अरु कसैको पनि भूमिका छैन । तर अहिलेको सरकारलाई भारत र चिन दुवैले समर्थन गरेका छन् । सहयोग गरेका छन् ।
नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ ? विशेषगरी भारत र चिनबिचको सम्बन्ध कसरी सन्तुलित राख्न सकिन्छ ?
भारत र चिनसँग सन्तुलित नीति बनाउन सकिन्छ । केही समयअघि गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनका राष्ट्रपति सि जिन पिङपिङसँग एकसाथ भेट भएको थियो । त्यसबेला पनि त्रिदेशीय सम्बन्धका बारमो कुरा भयो । मोदीले पनि नेपाल सानो छैन भन्नुभयो । सि जिन पिङले पनि इतिहास हेर्ने हो भने नेपालको भूमिका महत्वपूर्ण छ भन्नुभयो । त्यसैले हामीलाई भारत र चिनसँग सन्तुलित सम्बन्ध कायम गर्न कुनै समस्या छैन । यसले नेपालको विकासलाइ तिब्रता दिन्छ ।
नेपालमा संघीयता कार्यान्वयन गर्न असम्भव छ भन्नेहरु पनि देखिए नि । तपाईलाई के लाग्छ ?
अहिले भर्खर कार्यान्वयनको चरण भएकाले कोही कसैलाई अप्ठ्यारो लाग्न सक्छ । समस्या मात्रै देखिन सक्छ । तर विस्तारै सबै ठिक हुन्छ । अब पछाडि हट्ने भन्ने कुरै छैन ।