काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने बताएका थिए ।
सबै राजदुतहरुसँगको सामूहिक ब्रिफिङपछि आयोजना गरिएको लञ्चमा प्रधानमन्त्री ओलीले युरोपियन युनियनका प्रतिनिधिहरुसँग संक्षिप्त छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा नेपालस्थित् युरोपियन युनियनका प्रतिनिधिहरुले नेपालको संविधानमा के लेख्ने ? के नलेख्ने ? भन्ने कुरा यहाँको आन्तरिक विषय भएको स्पष्ट पारेका थिए ।
प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भनेको कुरा गर्दै स्रोतले भन्यो,‘ईयुको निर्वाचन पर्यवेक्षकको प्रतिवेदनमा हाम्रो कुनै संलग्नता छैन, यसलाई धेरै ठूलो इस्यु नबनाउनुहोस्। हाम्रो अफिसियल रुपमा संलग्नता छैन ।’
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
आजको प्रधानमन्त्रीको ब्रिफिङमा माओवादी केन्द्रका नेता तथा मन्त्रीहरु कोही पनि सहभागी भएनन् । एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको अवस्थामा पनि माओवादी केन्द्रका मन्त्रीहरु किन सहभागी भएनन् ? यो अहिले चासोको विषय बनेको छ ।
एमाले बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालको समेत सहभागिता रहेको उक्त ब्रिफिङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएनन् । रोचक त के भने माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरु कोही पनि उपस्थित् भएनन् ।
कतिपयले भन्दै थिए,‘आजको ब्रिफिङमा खोई त माओवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु ? संयुक्त सरकार छ, पार्टी एकता हुने भन्ने चर्चा चलिरहेको छ, के हो यस्तो पारा ?’
पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्रा्ष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्दे्शित रहेको स्पष्ट गर्दै उनले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताए ।