चैत १४, काठमाण्डौ । सरकारले विगतदेखि दिँदै आएको केही सार्वजनिक बिदा कटौति गर्ने तयारी गरेको छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्ने प्रस्ताव गृह मन्त्रालयले तयार पारेको हो ।
यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।
गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ ।
त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।
सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।
कटौती प्रस्ताव गरिएका बिदाहरुमा छ वटा दिसवहरु परेका छन् । ति दिवसहरुमा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् ।
त्यसैगरी चाडपर्वतर्फ घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिँदै आएको विदा काटिने भएको छ ।
रामनवमी र श्रीकृष्ण जन्माष्टमीमा दिइने गरिएको विदा पनि कटौति गर्ने गृहमन्त्रालयको तयारी छ ।
त्यसैगरी जनैपूर्णिमा र महिला कर्मचारीका लागि मात्र दिने गरिएको ऋषिपञ्चमी विदा पनि काट्न लागिएको छ ।
नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।
धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।