Logo

कांग्रेस नेता खुमबहादुर खड्काको निधन



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खडकाको आज अपरान्ह चार बजे निधन भएको छ । मृगौला रोगबाट ग्रसित पूर्व गृहमन्त्री समेत रहेका नेता खड्काको निधन उपचारको क्रममा नयाँ दिल्लीको एपोलो अस्पतालमा भएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका ६६ वर्षिय खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए।

खड्का २००८ जेठ १२ गते जन्म दाङको साविकको धर्ना गाविस ६ भैंसापथरामा जन्मेका हुन्। उनको परिवार राजनीतिक थियो। उनका बुवा टेकबहादुर खड्का कांग्रेसका जिल्लास्तरीय नेता थिए।

पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै उनी कांग्रेसको राजनीति लागेका थिए। जिल्ला अदालत दाङ देउखुरीकोको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीको तस्बिरमा ढुंगा हानेपछि उनलाई राजद्रोहको मुद्दा लाग्यो। मुद्दा लागेपछि खड्कासहित ७ जना भागेर बनारस पुगेको उनका सहपाठी घोराहीका तीर्थराज (चैतु) ले बताए।

बनारसमा खड्काको वीपी कोइरालासँग भेट भयो। उनी वीपीसँग नजिकिए। २०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति ल्याएर नेपाल फर्किँदा खड्का पनि सँगै आएका थिए। खड्का २८ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

३३ सालमा पक्राउ उनी पक्राउ परे। ३६को जनमत संग्रहका बेला उनी जेलबाट निस्किए। त्यसपछि पनि बेलाबेला जेल परे। २०४८ सालमा भएको आम निर्वाचन उनले राप्तीको कांग्रेस कमाण्ड सम्हालेका थिए। त्यतिबेला राप्तीका ९ वटै क्षेत्रमा कांग्रेसले जितेको थियो।

२०४८ सालमा पनि खड्का पहिलो पटक भौतिक निर्माण तथा यातायात मन्त्री भए। २०५२ सालमा उनी गृहमन्त्री भए। २०५९ सालमा उनीमाथि भ्रष्टाचार मुद्दा लाग्यो। उनी दोषी ठहर भए र जेल परे। २ वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य भएका थिए।

खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

 



प्रतिक्रिया दिनुहोस्