चैत १७, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संचारमाध्यमले नकारात्मकभन्दा सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने बेला आएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले समाज र नागरिक पनि नराम्रा समाचारको पछि दौडने प्रवृत्ति गएकाले संचारमाध्यम यसतर्फ सचेत हुनुपर्ने बताए ।
तिमिल्सिनाले रिपोर्टर्स क्लब नेपालले सफलताको २० वर्ष पार गरेकोमा बधाई र शुभकामना दिए । “ रिपोर्टर्स क्लबले राम्रा कुरालाई संरक्षण गरी खराब कुरालाई तिखो प्रहार गर्दै अगाडि बढ्न सकोस् ।” उनले भने ।
संविधान कार्यान्वयनका चरणमा प्रवेश गरिसकेको अवस्थामा अव नकारात्मक विषयलाई समाचार बनाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने उनले विश्वास गरे ।
तीनवटै तहले देश विकासका लागि गर्नुपर्ने सबै काम गर्ने भन्दै उनले देश विकास गर्नुको विकल्प नभएको बताए ।राष्ट्रलाई आर्थिक विकासको बाटोमा लैजानका लागि भ्रष्टाचार निर्मूल हुनुपर्ने उनको भनाई छ । भ्रष्टाचारजन्य सोचलाई त्यागेर देश बनाउने अभियानमा लाग्नका लागि उनले सबैलाई आग्रह गरे ।