काठमाडौं, १७ चैत्र । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधान उत्कृष्ट भएको भन्दै अब त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंको राष्ट्रिसभा गृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा बोल्दै अध्यक्ष उनले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउनेगरि अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,“शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सबै कुरामा ध्यान दिनुपर्छ ।”
नागरिकले माँग गरे बमोजिम राज्यले माँगहरु पूरा गराउनतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उनले थपे,“आगामी समाज समाजवादउन्मुख हुनेछ भनेर हामीले संििवधानमै लिपिबद्ध गरेका छौं, समाजवादको लक्ष्य हाँसिल गर्नको लागि सरकारमा रहने र प्रतिपक्षमा रहने सबै क्षेत्र मिलेर समृद्ध नेपाल निर्माण गराउनतिर लाग्नुपर्छ । अब बेला आएको छ।”
आर्थिक समृद्धि हाँसिल गर्नको लागि भ्रष्टाचार निमुर्ल पार्नुपर्ने उनको भनाई थियो । उनले थपे,“मानसिकतामा पनि भ्रष्टाचार छ, अब त्यसलाई परिवर्तन गर्नुपर्छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउनुपर्छ ।”
अध्यक्ष तिमिल्सिनाले क्लबलाई २० औं वार्षिकोत्सवको अवसरमा शुभकामना समेत दिएका छन् । क्लबले जनतालाई सुसुचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आगामी दिनमा यसको भुमिका अझ सशक्त होस् भन्ने शुभकामना दिए ।