चैत १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्द विप्लभलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको भन्दै विप्लभको कडा आलोचनात्मक कटाक्ष गरे ।
“थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ । माक्र्सवादमा कहाँ लेखेको छ । नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।” ओलीले भने ।
विप्लभ समुहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए ।
“यो विप्लभ कि के समुह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रशसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।” ओलीले भने ।
राजनीतिक मजाक नगर्न ओलीले विप्लभलाई चेतावनी दिए ।
“प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाँही आउनु । सातदिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लभलाई आग्रह गर्छु । अलि बढ्ता भयो ।” उनले भने ।
स–साना समुहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहेन बताए ।
अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको बताए । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए । “ट्याउट्याउ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे ।