Logo

मुलुकमा समृद्धको युग शुभारम्भ भयो : सांसद जुली महतो



जनकपुरधाम, १७ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । 

धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उहाँले सो आग्रह गर्नु भएको हो । प्रदेश सरकारले कारखाना परिसरमा सञ्चालन गरिहेका कार्यालय र आवासलाई कारखानाभन्दा अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै उहाँले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न सरकारले गृहकार्य गरिहेको छ भन्नुभयो ।

मन्त्री महासेठले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा सूचीकृत गराउने कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै जमुनीवास–बटेश्वर हुँदै कुर्थासम्म सडक निर्माणका लागि लागत खर्च र नापीको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले मिथिला नगरपालिकामा सडक, पुलपुलेसा निर्माणबारे विज्ञबाट स्थलगत सर्वेक्षण कार्य सम्पन्न भएको र लालगढ–सिन्धुली सडक निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो ।

सो अवसरमा  प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले अब मुलुकमा समृद्धको युग शुभारम्भ भएको धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य शत्रुधन महतोले कुनै बहानामा जनतालाई विकासको आशामाथि कुठाराघात हुने क्रियाकलाप गर्न नहुने बताउनुभयो ।

समारोहमा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले स्थानीय समस्याबारे जानकारी गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्