Logo

सातै प्रदेशमा आर्थिक गतिविधि बढाउनुपर्छ : नेता भुसाल



काठमाडौँ, १७ चैत : मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले आज यहाँ आयोजना गरेको ‘महिला उद्यमशीलता’ विषयक अन्तरक्रियामा सहभागी नेता तथा उद्यमीले यस्ता क्षेत्रमा गरिने लगानीले प्रतिफल दिने विचार व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता पम्फा भुसालले यस वर्ष संविधानअनुसार मुलुकमा तीन तहको निर्वाचन भई सरकार गठन गरिएकाले अब देश विकास गरी जनतालाई समृद्ध बनाउन सातै प्रदेशमा औद्योगिक विकासका माध्यमबाट आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा उदारीकरण र निजीकरणका नाममा केही माफियाले देशका उद्योग बन्द गराएको बताउँदै उहाँले अब मुलुकका विभिन्न भूगोलमा प्राप्त हुने कच्चा पदार्थका आधारमा वस्तु तथा सेवा उत्पादन गर्न आवश्यक जनशक्ति तयार गर्नुपर्ने र महिलालाई उद्यमशीलतामा संलग्न गराइनुपर्ने बताउनुभयो ।

महिला उद्यमीहरु अस्मिता सुमार्गी, रीता भण्डारी, होलिका श्रेष्ठ, मेगा बैंकका निर्देशक रविना देशराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि विष्णुकुमारी भुसाललगायतले स्थानीय तहमा युवा स्वरोजगार, हस्तकला, उद्यमशीलता तथा घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशभित्र अर्थतन्त्र चलायमान हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले उद्यमी महिलालाई सामूहिक जमानीमा ऋणको व्यवस्था गर्न माग गर्दै उत्पादनशील क्षेत्रले चाँडो रोजगार सिर्जना गर्ने हुँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्