Logo

भूगोलको आधारमा बजेट विनियोजन गर्छौं : मन्त्री ज्वाला



सल्यान, १७ चैत  : कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा भूगोलका आधारमा बजेट विनियोजन गर्ने बताउनुभएको छ ।

जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा विकास सन्तुलित रुपमा नहुने भएकाले प्रदेश सरकारले भूगोल र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न लागेको बताउनुभएको हो ।

आज वागचौर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लासँग समन्वय गरेर कामचलाउ बजेट विनियोजनको तयारीमा लागेको उहाँले बताउनुभयोे । “तत्कालका लागि कामचलाउ बजेट ल्याउने तयारी भइरहेको छ असारलगत्तै पूरक बजेट ल्याइनेछ । प्रदेशमा हुने काम कारवाहीमा समस्या नहोस् भन्नका लागि आंशिक बजेट ल्याउन थालिएको हो”, ज्वालाले भन्नुभयो ।

अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश निकै आत्मनिर्भर भएको दाबी गर्दै मन्त्री ज्वालाले यहाँको जलस्रोत, जडीबुटी, धार्मिक एवं पर्यटकीयस्थललाई प्रचार र उपयोगमा ल्याउन सके कर्णाली प्रदेशलाई आर्थिक, सामाजिक हिसाबले आत्मनिर्भर बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशलाई विकसित गराउनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । कर्णाली प्रदेश हिराको डल्ला हो उक्त हिरालाई प्रयोगमा ल्याउन जरुरी छ ।”

अहिले प्रदेश सरकारले कानून बनाउने कार्यमा जुटेको मन्त्री ज्वालाले जानकारी दिनुभयो । “हामी अहिले कानून बनाउन लागिपरेका छौँ कानूनको अभावमा गर्न नसकिएका सबै क्रियाकलाप कानून बनेपछि सहज हुनेछ”, मन्त्री ज्वालाले भन्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्