Logo

सभापतिलाई सडकबाट फाल्छु भनेर हुँदैन : चन्द्र भण्डारी



चैत १८, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्व विवेकशील र न्यायिक हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले कांग्रेसको अहिलेको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसक्ने हो भने विदा लिनुपर्ने बताए ।

अर्ली महाधिवेशन गरेर प्रक्रियाअनुसार पार्टी नेतृत्व परिवर्तन गर्न सकिने भण्डारीले बताए । नेतृत्वले सहज रुपमा नेतृत्व परिवर्तनको मागलाई पूरा गर्न नसके महाअभियोग लगाउन पनि सकिने भण्डारीले बताए ।

“प्रजातान्त्रिक परिपाटीअनुसार पार्टी सभापतिले चाहेनन् भने कि महाअभियोग लगाउनुपर्यो कि पद रिक्त हुनुपर्यो । होइन भने त कसैको केही लाग्दैन ।” भण्डारीले भने ।

नेता भण्डारीले केन्द्रिय समिति बैठक चलिरहेको उल्लेख गर्दै नेतृत्वको आलोचना मात्रै गर्ने नभै कमी कमजोरी कसरी सुधार गर्ने भन्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताए ।

काग्रेसलाई पाँच वर्षभित्रमा कहाँ पुर्याउने भन्ने योजनासहित युवा नेताहरु केन्द्रिय समिति बैठकमा प्रस्तुत हुने भण्डारीले बताए ।

“लिखित कार्ययोजनासहितको प्रस्ताव, कसैलाई अपमानित नगरी आन्तरिक द्धन्द्धलाई कमजोर बनाउँदै पार्टीलाई बलियो बनाउनेतर्फ हामी अगाडि बढ्छौँ । द्धन्द्धलाई र कसैको स्वार्थलाई बढावा दिने काम गर्दैनौँ ।” भण्डारीले भने ।

कसैलाई गाली गलौज गर्ने प्रवृत्तिले पार्टी बलियो नहुने भन्दै भण्डारीले सुधारका योजनसहित आफूहरु अगाडि बढ्ने दाबी गरे ।

अहिले तत्काल अर्ली महाधिवशेनभन्दा पनि सबै कुरा प्रजातान्त्रिक पद्धतिअनुसार अगाडि बढिने भण्डारीले बताए ।

“हामीले अवैध रुपमा विधानभन्दा बाहिर गएर केही पनि गर्नुहुँदैन । अर्ली महाधिवेशन गर्ने कुरा हाम्रो अधिकार होइन । केन्द्रिय समिति बैठकले महासमिति बैठको मिति तोक्छ । विधान कार्यान्वयन गर्ने कुरा गर्छ ।” भण्डारीले बताए ।

सभापति शेरबहादुर देउवाको विकल्प खोज्नका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भण्डारीले बताए ।

“भर्खर चुनाव सकेर आएको सभापतिलाई सडकबाट फाल्छु भनेर नि भएन नि । यसका लागि प्रक्रिया छ । कि त सभापति देउवाले छोड्नुपर्यो । कि त प्रक्रियाअनुसार जानुपर्यो ।” भण्डारीले भने ।

संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीका कारण नेपालका दलहरुका नेतृत्वले मनोमानी गर्ने अवसर पाएको उनले बताए ।

“जतिसुकै कमजोर नेतृत्व भए पनि समानुपातिकबाट आफ्ना मान्छे नियुक्ति गरेर शक्तिशाली बन्ने मौका पाए । त्यसैले समानुपातिक प्रणालीमा पनि मापदण्डको आवश्यक छ ।” भण्डारीले भने ।

समानुपातिक प्रणालीमार्फत समाजका प्रतिष्ठित व्यक्तिहरुलाई ल्याउनुपर्ने भए पनि नेताहरुले दूरुपयोग गरेको भण्डारीले आरोप लगाए । संविधान बनाउँदा नै गल्ती भएको उनको तर्क छ ।

सत्तापक्ष र प्रतिपक्ष मिलेर देशको समृद्धिका निम्ती एकमत हुनुपर्ने भण्डारीले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले देश सम्पन्न भयो भने वा जनता धनी भए भने मात्रै नेताहरु पनि प्रतिष्ठित हुने भएकाले सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लबले आफ्नो स्थापना दिवसका अवसरमा समृद्धिलाई अबको बहसको विषय बनाउने उल्लेख गरेको स्मरण गराउँदै भण्डारीले नेपालको संचारमाध्यमलेसमेत नेपाललाई कसरी विकास गर्ने भन्नेमा चासो दिएकोमा गज्जब लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्