Logo

कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना : मन्त्री खनाल



कपिलवस्तु, १८ चैत / कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमाजोड दिनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो ।

अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उहाँको भनाइ थियो । खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेको उहाँको तर्क थियो । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिनुभयो ।

अब जमिन बाँझो राख्नेउपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्