Logo

सृमद्धि र विकासको जग कांग्रेस नेतृत्वमै



शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस : झन्डै सात दशक लामो राजनीतिक संक्रमण र अन्योलताको अन्त्य गर्दैै कांग्रेसकै नेतृत्वमा नयाँ संविधान जारी भई कांग्रेसकै नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेको छ । चुनावका विषयमा जिम्मेवार दलहरूले नै अनेक आशंका व्यक्त गर्दै अविश्वास गरिरहे पनि मेरो नेतृत्वको सरकारले राष्ट्रहित र समृद्धिलाई केन्द्रमा राखेर सफलतापूर्वक चुनाव सम्पन्न गरेको हो ।

विगतको राजनीतिक, सामाजिक र आर्थिक इतिहासलाई हेर्ने हो भने यी तीनै क्षेत्रको सुधारको नेतृत्व कांग्रेसले गरेको जगजाहेरै छ । कुनै बेला कांग्रेसले आर्थिक उदारीकरण र खुला अर्थतन्त्रको नीति लिँदा चर्को विरोध गर्नेहरू अहिले त्यसको प्रचारक हुँदा हामीलाई गर्व नै लागेको छ । आखिर कांग्रेसको नीति र सिद्धान्तलाई विरोधको अस्त्र बनाउने दलहरू पनि हाम्रै नीतिका अहिले प्रचारक बनेका छन् ।

२०४६ सालको प्रजातन्त्र बहालीपछि कांग्रेस नेतृत्वमा बनेका पटकपटकका सरकारले नेपालको आर्थिक समृद्धि र विकासको जग हालेको हो । अहिले जति पनि विकास र समृद्धिका कामहरू भएका छन्, तिनीहरू सबैको आधार कांग्रेसले नै बनाएको हो । हामीले अरुण तेस्रो जलविद्युत् आयोजना बनाउन खोज्दा संसद् अवरोध र सडकमा टायर बालेर झन्डै २० बर्ष मुलुकलाई अन्धकारमा राख्ने दल कुन हो ? यो सबैले बुझेकै कुरा हो । तिनै दल अहिले समृद्धिको खोक्रा कुरा गर्दैछन् । कांग्रेस नेतृत्वको सरकारले ल्याउन लागेको अरुण तेस्रोमा तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले विरोध नगरेको भए हामी अहिले आर्थिक विकास र समृद्धिमा निकै अघि पुगिसकेका हुन्थ्यौं । अरुण तेस्रोको बिजुलीसँगै मुलुकमा विकास र रोजगारी मुहान फुट्थ्यो ।

मेलम्ची खानेपानी आयोजनादेखि आर्थिक क्षेत्रमा व्यापक सुधार, स्वास्थ्य क्षेत्रमा सुधार, कृषिलाई आधुनिकीकरण लगायतका कामहरूको सुरुवात कांग्रेसले नै गरेको हो । हामी गर्वका साथ भन्छौ कि कांग्रेसले बनाएको विकासको अवधारणामा नै अहिले सबै दलहरू आएका छन् ।

कतिपयले भन्ने गरेका छन्, कांग्रेस चुनाव हारेर निकै तल खस्किएको छ । तर यी तथ्यबाहिरका तर्कमा म र मेरो पार्टी सहमत छैन । संसद्मा दोस्रो र तेस्रो ठूला दलबीच पार्टी एकीकरणको घोषणा गरेर चुनावमा जाँदा पहिलो दल कमजोर हुने स्पष्टै थियो । त्यो अवस्थामा राजनीतिशास्त्र र अंकगणितको कुनै पनि सूत्रले पार लगाउन सक्ने अवस्था थिएन । चुनावको परिणामको पूर्वाअनुमान हामीलाई पहिला नै थियो । तर, हामी लोकतन्त्रवादी हौं । जनताको मतलाई हामी लोकतन्त्र बलियो बनाउने एकएक इटाको रूपमा सहृदय स्विकार गर्छौ ।

सायद प्रधानमन्त्रीको कुर्चीमा कुनै कम्युनिस्ट नेता भएको भए, उसले चुनाव गर्दैनथियो । किनकि जसले चुनाव गराउँछ उसैले हार्ने चुनावलाई कम्युनिस्टहरूले स्विकार गर्दैनन्, एउटा लोकतन्त्रवादी र सच्चा राष्ट्रवादीले मात्रै स्विकार गर्छ । २०७० सालमा तिनै कम्युनिस्ट पार्टीले गैरराजनीतिक सरकारले स्वतन्त्र रूपमा गरेको चुनावको परिणाम महिना दिनसम्म पनि स्विकार नगरेको हामी सबैलाई थाहा नै छ । कम्युनिस्ट चरित्रका विषयमा यो पछिल्लो उदाहरण नै काफी छ ।
तर, हाम्रो मुलुकले अब पनि संक्रमणका नाममा हुने राजनीतिक अस्थिरता लम्ब्याएर विकास र समृद्धिमा अवरोध सिर्जना गर्न हुँदैन भन्ने दृढता म र मेरो पार्टीमा थियो । म आफू चुनाव हारेर पनि देशलाई जिताउन चाहन्थें । त्यसैले मैले त्यही गरेँ । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई कार्यान्वयन गराएँ । समृद्धि र विकासको ढोका खोलें ।

आवधिक चुनाव हारजितलाई हामीले ठूलो विषय बनाएनौं र बनाउँदैनौं पनि । समग्रमा संविधान कार्यान्वयनलाई केन्द्रमा राख्यौं । हतियार उठाएर जंगल पसेको एउटा शक्तिलाई राजनीतिको मूल प्रवाहमा ल्याएर जनमतको कदर गर्ने बनायौं । यही हो हामी लोकतन्त्रवादी र कांग्रेसीहरूको जित ।

तीन तहको चुनाव सम्पन्न भएर अब मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनको बाटोका अघि बढेको छ । प्रदेशहरूमा सरकार गठन भइसकेका छन् । अब जनताले स्थानीय, प्रदेश र केन्द्र तीनै सरकार पाउने भएका छन् । संविधानले जनतालाई जनार्दन बनाएको छ । सीमान्तकृत समुदाय, क्षेत्र र जातिका लागि संविधानले तीनै तहका सरकारमा आवश्यक अधिकारहरूको सुनिश्चितता गरेको छ । तर जनतालाई आफ्नो अधिकारका लागि सजग गराएर संविधानको पूर्ण कार्यान्वयन गराउने जिम्मेवारी हामी सबैका अघि छ । मेरो दल कांग्रेस जनताका अधिकार कार्यान्वयन गराउनेमा सधैं नेतृत्व गर्न तयार छ, चाहे सत्तामा हुँदा होस् वा प्रतिपक्षमा ।

हामी कुनै पनि खालको अतिवादमा विश्वास गर्दैनौं । हामी जनताको वादमा विश्वास गर्छौं । त्यसैले हिमाल, पहाड र तराई जुनसकै क्षेत्रमा बस्ने हामी नेपालीहरूबीच आपसी सम्बन्ध प्रगाढ हुनुपर्छ भन्नेमा प्रस्ट छौ । कतिपय दलका जिम्मेवार नेताहरूले कुनै निश्चित भेगका जनताले अधिकारको कुरा गर्दा राष्ट्र विरोधीको आकार देख्ने गरेको सबैलाई अवगत नै छ । हामी यहाँका विविध जातजाति, भाषाभाषि, क्षेत्र र समुदायबीचको सम्बन्धलाई एउटै मालामा गाँसेर साँच्चिकै राष्ट्रवादलाई थप मजबुत बनाउन चाहन्छौं । बोली र व्यवहारमा राष्ट्रवादको परिभाषा फेर्ने र त्यसलाई सत्ता स्वार्थसँग मात्रै जाडेर हेर्ने परिभाषा नेपाली कांग्रेसको छैन र हुँदैन् । हामी छिमेकी मुलुक र अन्य मित्रराष्ट्रहरूसँग पञ्चशीलताको सिद्धान्तको आधारित व्यवहार गर्न चाहन्छौं । भूपरिवेष्टिक मुलुक भएकाले हामी दुई छिमेकी मुलुक चीन र भारतसँगको शताब्दीयौंदेखिको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन चाहन्छौं । उनीहरूले आर्थिक विकासमा गरेको प्रगतिको केही हिस्सा छिमेकी मुलुकका नाताले लिन चाहन्छौं । हाम्रो विकासमा साझेदार भएका अमेरिका, बेलायत, जापान, युरोपियनलगायतका सबै मुलुकसँग आपसी सम्बन्धलाई सुदृढ बनाउन चाहन्छौं । कम्युनिस्टहरूले जस्तो कुनै छिमेकी वा मित्र राष्ट्रहरूसँग स्वार्थका आधारमा सम्वन्ध राख्दैनौं ।

यसअघिको मेरो नेतृत्वको सरकारले चुनावका साथै केही जनताको सरोकारका विषयलाई पनि केन्द्रमा राखेर निर्णयहरू गरेको थियो । विषेशगरी स्वास्थ्य, शिक्षा क्षेत्रमा देखिएका विकृतिहरू नियन्त्रण गर्न मैले चिकित्सा शिक्षा विधेयक जारी गरेको छु । डा.गोविन्द केसीले उठाएका जायज मागहरूलाई उक्त विधेयकमा समावेश गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा कुनै असनको चिउरा बेचेको जस्तो व्यापार होइन । यसका केही मान्नै पर्ने आधारभूत विषयहरू छन् । डा.केसीले सोही विषयलाई आफ्नो एजेन्डा बनाएर अभियान थालेका हुन् । जसलाई मैले गहिरिएर अध्ययन गरेर चिकित्सा शिक्षालाई कारखाना बनाउन हुँदैन, यसको गुणस्तरसँग जनताको स्वास्थ्य जोडिएको छ भनेर चिकित्सा शिक्षा विधेयक जारी गरेको हुँ । मलाई विश्वास छ वर्तमान सरकारले यसलाई अघि बढाउन सहयोग गर्नेछ ।

मेरो नेतृत्वको सरकारले केही गम्भीर रोगबाट पीडितहरूलाई जीविकोपार्जन भत्ता दिने निर्णय गरेको छ । मलाई विश्वास छ, महिनामा आउने पाँच हजार रुपैयाँले उनीहरूको रोगको पीडा खुसीमा साट्नेछ । म, भन्न चाहन्छु, अब कुनै पनि नेपालीहरू औषधि उपचार नै गर्न नपाएर ज्यान गुमाउन नपरोस् । त्यसैलै मैले क्यान्सर, मिर्गौला र मेरुदण्डका रोगीहरूलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हुँ ।

अर्को यस्तै महत्वपूर्ण विषय छ, वृद्धभत्ताको उमेर हद । हामीले सिंहदरबारमा बसेर हुम्ला र ओलाङचु«ङगोलाको जनताको समस्या सुन्न सक्नुपर्छ । हाम्रो ‘हेल्र्थ इन्डेक्स’ले के भनेको छ ? ती दूरदराजमा बस्ने हाम्रा आमाबुबा र दिदीबहिनीहरूको औसत उमेर कति छ ? कति वर्षको ‘वेन्चमार्क’ राख्दा साँच्चिकै वृद्धभत्ता आवश्यक पर्नेको हातमा पुग्छ ? भन्ने विषयलाई मध्यनजर गर्दै मैले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ बनाएको हो । र, यो निर्णय वैज्ञानिक र व्यावहारिक दुवै छ भन्नेमा म जोसँग पनि तर्क गर्न तयार छु ।

त्यस्तै पत्रपत्रिकाका दैनिक समाचार हुन्, भूकम्प पीडितहरूको राहतको समस्या । भूकम्पले परिवार गुमाएको पीडा अझै सेलाएको छैन, तर घर नभएर फेरि अर्को परिवार गुमाइन्छ कि भन्ने समस्या उस्तै छ । त्यसैले भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ राहत दिएर मैले उनीहरूको दुःखमा मलम मात्रै लगाउन खोजेको हो । त्यो रकमले उनीहरूको सामान्य बासको त व्यवस्था होस् भन्ने मेरो चाहना हो । मलाई विश्वास छ वर्तमान कम्युनिस्ट सरकारले भूकम्पपीडितका विषयमा मेरो नेतृत्वले गरेको निर्णयमा कर्के आँखा लगाउने छैन ।

अन्त्यमा,

अहिले पछिल्लो समय कांग्रेसलाई सुझाव दिएर पण्डित बन्नेहरूको कमी छैन । कांग्रेसको क पनि नबुझेको र नेपालमा लोकतन्त्र स्थापना गर्न हाम्रा अग्रजहरूले गरेको त्याग, बलिदान र संघर्षको सामान्य ज्ञान पनि नभएकाहरूबाट कांग्रेस सुधारका मन्त्रहरू सुन्दा अचम्म लाग्छ । कांग्रेस यस्तो लोकतान्त्रिक पार्टी हो, जहाँ पार्टीभित्रका असहमतिहरूमा छलफल र बहस गर्न खुला छ । हामी त्यस्ता असहमतिलाई पनि सुन्छौं । कम्युनिस्टमा जस्तो असहमति दबाएर राख्दैनांै । जसको कारण सामाजिक सञ्जाल र मिडियामा कांग्रेसका विषयमा टीकाटिप्पणी खुला छन् । पक्कै पनि सिर्जनात्मक सुझाव हामी सधैं स्विकार गर्छौं । तर सुझावको नाममा आएका कम्युनिस्ट प्रपोकाण्ड हामीलाई स्विकार्य छैन ।

पार्टीभित्र हुने वैचारिक गुटका विषयमा पनि हामी खुला नै छौ । तर, कसैको प्रभावमा, कसैको आग्रह वा पूर्वाग्रहमा हुने गुट भने स्विकार्य छैन । पार्टीका साथीहरूले सोच्नुपर्ने विषय यही हो ।

हाम्रा संस्थापक नेता बीपी कोइरालाले भन्नुभएको छ, ‘देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेसलाई पनि चौतर्फी आक्रमणहरू हुन सक्छन्, त्यो बेला लोकतन्त्र बचाउन हामी सबै लोकतन्त्रवादीहरू एक हुनुपर्छ ।’ हो, लोकतन्त्रलाई कहीँ कतैबाट खतरा ल्याउन खोजिन्छ भने हामी त्यसमा कुनै सम्झौता गर्दैनौं । कांग्रेसइतरका शक्तिहरूबाट लोकतन्त्र सुरक्षित हुँदैन भन्ने हाम्रो विगतको अनुभव छ । यसमा हामी सधैं सचेत रहनेछौं । प्रतिपक्षको भूमिकामा कांग्रेसले वर्तमान सरकारलाई ‘वाचडग’को रूपमा हेरिरहेको छ । राम्रा काममा सहयोग र गलत गर्न खोजे सशक्त विरोध गर्ने सामथ्र्य कांग्रेससँग छ । संसद्को अंकगणितका आधारमा कसैलाई दबाउने वा हेप्ने रणनीति ल्याइयो र संविधानका आधारभूत विषयहरू बग्याउन खोजियो भने त्यो हामीलाई सह्य हुँदैन । तसर्थ वर्तमान सरकारले यी विषयहरूलाई नजरअन्दाज नगरोस् ।

(यो लेख रिपोर्टर्स क्लबद्धारा प्रकाशित ‘अब समृद्धिको पाइला’ नामक स्मारिकाबाट साभार गरिएको हो )’



प्रतिक्रिया दिनुहोस्